गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ। फाइनान्सले २ बराबर १ कित्ता हकप्रद अर्थात ५० प्रतिशतका दरले जेठ १ देखि असार ४ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।
गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रदका लागि बैशाख २० गते बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख १९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन।
फाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २८ करोड ९३ लाख बराबरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। फाइनान्सको सेयर निष्कासन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ।
बैशाख १९ सम्म कायम सेयरधनीहरुले फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट, गोर्खाज फाइनान्सको सम्पूर्ण कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको बिरगंज, बिराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगंज , धनगडीबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।
साबिकको गोर्खा डेभलपमेन्ट बैंक र काठमान्डू फाइनान्स एक आपसमा मिलेर बनेको 'ग' बर्गको राष्ट्रिय स्तरको गोर्खाज फाइनान्सले गत चैत २८ मा एकीकृत कारोबार थालेको हो।
गोर्खाज फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। हाल गोर्खाज फाइनान्सको चुक्ता पुंजी ५७ करोड ८६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रि तथा वितरण पश्चात गोर्खाज फाइनान्सको चुक्ता पुंजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्ने छ।