नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिने प्रक्रिया स्थगन गर्न अर्थ समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 08:24:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया, र नयाँ ब्रोकरको लाईसेन्सको प्रक्रिया स्थगन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समितिबाट विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारवाहीलाई अगाडी नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय गरेको हो।

त्यस्तै समितिले ब्रोकर लाईसेन्स प्रदान गरेको विषयमा छानविन गर्ने भएको छ । सोमबारको बैठकले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। त्यस्तै समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग यी विषयमा विस्तृत छलफल गर्ने निर्णय पनि गरेको छ ।

समितिका सभापति सन्तोष चालिसेका अनुसार नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए गरेका काम कारबाही सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको, यस सम्बन्धमा संघीय संसदमा सदस्यहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनी विषय उठान गरेको र समितिको मिति २०८०/०२/०२ गते बसेको बैठकमा समेत सदस्यहरुबाट यस विषयमा गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको साथै पूँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन मिति २०७७/०३/३० को पत्रबाट त्यस बोर्डलाई कार्यान्वयनको लागि पठाइएको पृष्ठभूमिमा यस सम्बन्धमा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण ५ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको कामकारबाहीमा सहयोग पुऱ्याउनु हुन भनी अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग यस समितिले मिति २०८०/०२/०७ मा पत्र पठाईएको थियो ।

 सो सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट मिति २०८०/०२/१२ को धितोपत्र बजार संचालन तथा धितोपत्र दलाल व्यवसायीको अनुमति सम्बन्धमा त्यहाँबाट प्राप्त पत्रानुसार "नेपालको धितोपत्र बजार तथा लगानीकर्ताको हितलाई हेरी थप एउटा सम्म स्टक एक्सचेन्ज स्थापना गर्न अनुमति प्रदान गर्न उपयुक्त हुने देखिएको " र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमती सम्बन्धमा "पूर्वाधार तयार गरेको जानकारी गराएका सात वटा संस्थालाई अनुमति प्रदान गरिसकेको" र केहि दिनपछि थप एघार गरि जम्मा अठार वटा संस्थालाई अनुमति प्रदान गरेको विषयमा सोमबारको बैठकमा छलफल गरिएको समितिका सभापति चालिसेले बताए । छलफलपछि समितिले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया, र नयाँ ब्रोकरको लाईसेन्सको प्रक्रिया स्थगन गर्न निर्देशन दिने निर्णय गरेको उनले जानकारी दिए 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved