शेयर कारोबारको लागि टिएमएस लिनेको संख्या १८ लाख नजिक, दैनिक ६० हजारले गर्छन सिस्टममा लगइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 02:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो बजारमा शेयर कारोबारको लागि ट्रेड म्यानेजमेन्ट सिस्टम  (टिएमएस)को आईडी पासवर्ड लिने लगानीकर्ताको संख्या १८ लाख नजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार २०८० असार मसान्तसम्म टिएमएसको आईडी पासवर्ड  लिनेको संख्या १७ लाख ८४ हजार पुगेको हो ।

शेयरबजारमा अनलाइन प्रणालीको विकास भएपछि लगानीकर्ताले विभिन्न ब्रोकर कम्पनी मार्फत टिएमएस आइडी लिएर आफु रहेको स्थानबाट नै शेयर खरिद बिक्री गर्नको लागि अर्डर राख्ने गरेका छन्। कोभिडको समयमा ब्रोकरको डिस्प्लेरुम बन्द भएपछि टिएमएस लिनेको संख्या ह्वातै बढेको थियो ।

नेप्सेका अनुसार हाल दैनिक रुपमा औसत ६० देखि ७० हजारले कारोबार समयमा टिएमएसमा लगइन गर्ने गरेका छन् । यद्यपि यो लगइन गर्नेको संख्या मात्र हो । लगइन गर्ने सबैले कारोबार भने गरेका हुदैनन् ।

बजार न्यून विन्दु अर्थात् बियरिस ट्रेन्डमा रहेको बेला कारोबार समयमा टिएमएस लगइन् गर्ने लगानीकर्ताको संख्या औसतमा २० देखि ३० हजार मात्र रहेको नेप्सेले जनाएको छ। नेप्सेका अनुसार बुलिस बजारमा भने टिएमएस लगइन गर्ने लगानीकर्ताको संख्या दैनिक औसतमा २ लाख ३० हजार हाराहारी थियो । ३ लाख ३५ हजारसम्मले कारोबार समयमा टिएमएस लगइन गरेको रेकर्ड कायम भएको नेप्सेले जनाएको छ । 

नेप्सेका स्रोतका अनुसार नेप्सेमा चन्द्र सिंह साउद हुंदा उनले हरेक साता टिएमएस कतिले लिए, कति थपिए, कुन ब्रोकर मार्फत कति थपिए भनेर विवरण तयार पार्न लगाउने गरेका थिए । धेरै भन्दा धेरै लगानीकर्तालाई टिएमएस लिन प्रोत्साहन गर्ने उदेश्यले सीइओ साउदले साप्ताहिक रुपमा टिएमएस लिनेको रिपोर्ट बनाउन लगाउने गरेका थिए । सो रिपोर्ट नेप्सेले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गर्ने गरेको थियो । जसमा कुन ब्रोकर मार्फत कतिले टिएमएस लिए भन्ने विवरण हुने गरेको थियो ।

अहिले भने नेप्सेले त्यस्तो खालको रिपोर्ट बनाउने गरेको छैन । नेप्सेका एक कर्मचारीले भने 'पहिले साउद सरले हरेक हप्ताको रिपोर्ट बनाउन लगाउनु हुन्थ्यो, हरेक साता कति थपिए भन्ने यकिन विवरण आउथ्यो, साउद सर हटेपछि रिपोर्ट बनेको छैन'। रिपोर्ट नबनेकोले यकिन रुपमा कतिले टिएमएस लिए भन्ने एकत्रित डाटा नेप्सेसँग छैन । यद्यपि सबै ब्रोकरको विवरण जोड्यो भने डाटा आउने ति कर्मचारीको भनाई छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved