डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने नियम लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 09:55:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेको छ। सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने बताएको थियो। सोहि निर्णय कार्यान्वयनमा आएको हो । 

यस संगै लगानीकर्ताले मेरोशेयर खोल्दा यदि डिम्याट नविकरण नभएकाको हकमा 'Your Demat account has been expired! Renew your Demat account via online payment or visit your DP.' भन्ने संदेश देखाउन थालेको छ । डिम्याट नवीकरण नगरेसम्म मेरोशेयर पनि खुल्ने छैन र आईपीओ वा हकप्रदमा पनि आवेदन दिन पाइने छैन ।

यस संगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिने डिम्याट नविकरण गरेकै हुनु पर्ने छ ।  अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गरिरहेका छन् । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरोशेयर मात्र नविकरण गर्ने गरेका थिए। त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरेका लगानीकर्ताको मेरोशेयर पनि रोक्का राखेको हो ।  मेरोशेयर रोक्का भएर आईपीओमा आवेदन समेत दिन नपाउने भएकोले अब बाध्य भएर लगानीकर्ताले डिम्याट पनि नवीकरण गर्ने सिडीएसको अपेक्षा छ ।

 लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था छ। सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS गर्न सम्भव हुदैन। 

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण गरेका छैनन्। मेरोशेयर नवीकरण गरेपछि आईपीओमा आवेदन भने गर्न मिल्छ  । शेयर नबेच्ने भएपछि लगानीकर्ताहरुले डिम्याट नवीकरणमा चासो देखाउने गरेका छैनन्। अब भने आईपीओ भर्नको लागि पनि डिम्याट नविकरण गरेको हुनु पर्ने छ । 

कति छन् डिम्याट नविकरण नभएका खाता ?

सिडीएसको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख बढी रहेको छ । यी मध्ये करिब ३५ लाख खाता मात्र नवीकरण रहेको छ। बाँकि खाता नवीकरण भएका छैनन् । डिपी भनेर चिनिने डिम्याट खोल्ने कम्पनीहरुले करिब १७ लाख डिम्याट खाता नवीकरण हुन बाँकि रहेको तथ्यांक सिडीएसलाई उपलब्ध गराएका छन् । तर यो संख्या करिब २० लाख भएको सिडीएसको अनुमान छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved