
नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच बिहिबार दुईपक्षीय सम्झौता भएको छ । सम्झौतामा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेश हमाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
देशभर लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो। सम्झौता अनुसार लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्न धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने छन् । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर आज दुई संस्थाबीच सम्झौता भएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ७७ जिल्लामा उद्योग वाणिज्य महासंघ मार्फत कार्यक्रम गरिने बताए । उनका अनुसार पहिलो चरणमा ३० वटा जिल्लामा सेयर साक्षरता (वित्तीय साक्षरता) कार्यक्रम गरिने छ । वित्तीय साक्षरताको मामलामा नेपालको अवस्था कमजोर रहेकोले त्यसलाई बढाउन यो सम्झौता गरिएको उनले उल्लेख गरे ।