म्युचुअल फण्डले बदनाम गराएपछि धितोपत्र बोर्डको कडा कदम, रोकिएला त 'कमाउ धन्दा' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 11:53:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियममा प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) ल्याएको सोनापुर मिनरल्स एन्ड ओइल लिमिटेड र घोराही सिमेन्टलाई जोडेर पछिल्लो समय नेपाल धितोपत्र बोर्डको चर्को आलोचना भएको छ। आइपीओ बिक्रिमा ल्याउँदाको मुल्य भन्दा बजारमूल्य तल आएपछि कमजोर कम्पनीलाई आर्थिक चलखेल गरेर महँगो प्रिमियममा बिक्रिको अनुमति दिएको आरोप धितोपत्र बोर्ड माथि लागेको हो। 

एक सय रुपैयाँ अंकित मुल्यमा १३७ रुपैयाँ ५७ पैसा थप गरेर सोनापुर सिमेन्टले प्रति कित्ता २३७ रुपैयाँ ५७ पैसामा आइपीओ बिक्रीमा ल्याएको थियो। तर मङ्सिर १९ गते आइतबारको कारोबारमा सोनापुरको मुल्य बिक्रीमा ल्याउँदाको भन्दा पनि ७ रुपैयाँले कम अर्थात २३० रुपैयाँमा ओर्लिएको थियो भने २३७ रुपैयाँमा बन्द भएको थियो। त्यस्तै घोराही सिमेन्टले पनि ४३५ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । तर कम्पनीको बजारमूल्य घटेर ३६३ रुपैयाँ १० पैसासम्म पुग्यो ।  

आइपीओको मुल्य भन्दा बजार मूल्य तल झरे पछि कमजोर कम्पनीलाई प्रिमियममा आईपीओ बिक्रि गर्न दिएर लगानीकर्ता डुबाएको आरोप धितोपत्र बोर्डमाथि लागेको हो। विशेषगरि बोर्ड अध्यक्ष रमेश हमालमाथि कमिसन लिएर सोनापुर, घोराही र यस्तै अन्य कमजोर कम्पनीलाई प्रिमियममा शेयर बिक्रि गर्न दिएको आरोप लागेको हो। 

तर बोर्ड अध्यक्ष हमालले यो आरोपको कुनै औचित्य नभएको बताएका छन्। आइपीओको भन्दा बढी राखेर सुरुवाती कारोबार मुल्य तोक्ने निर्णय धितोपत्र बोर्डको नभई नेपाल स्टक एक्सचेन्जको भएकाले यस्ता आरोपको कुनै औचित्य नभएको उनको भनाई छ। 

"सोनापुरको हकमा धितोपत्र बोर्डले १३७ रुपैयाँ प्रिमियम सहित २३७ रुपैयाँमा आइपीओ ल्याउन दिएको हो" अध्यक्ष हमालले भने, "सुरुवाती कारोबार मुल्य प्रति कित्ता ३५० तोकेको नेप्सेले हो, धितोपत्र बोर्डले होइन।"

नेप्सेले सोनापुरको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहकोमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस रेन्जबिचको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने व्य्वास्था छ । 

 सुरुवाती कारोबार ३५० रुपैयाँ हुँदा यसको प्रत्यक्ष लाभ आरक्षणमा सोनापुरको आइपीओ पाउने म्युचुअल फण्डहरुले उठाएका छन्। ने सुरुवाती मुल्य ३५० रुपैयाँमा शेयर बिक्रि गरेर कमाउनेमा म्युचुअल फण्डहरु अग्रस्थानमा देखिएका छन्। स्थानीय, वैदेशिक रोजगारी र आम लगानीकर्ता मध्येको थोरैले ३५० को मुल्यमा शेयर बिक्रि गर्न भ्याएपनि ठुलो संख्यामा बेच्ने म्युचुअल फण्ड नै देखिएका छन्। पहिलो कारोबार दिन देखि लगातार ३ दिनसम्म सोनापुरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो । 

नेप्सेले कानुनी प्रकृया मिलाएर नै मुल्य तोकेपनि बजारको अवस्था हेरिकन मात्र मुल्य तय गर्नुपर्ने र सोहि अनुसार आरक्षणमा शेयर पाएका म्युचुअल फण्डले शेयर बिक्रि निर्णय लिनुपर्ने अध्यक्ष हमालको भनाई छ। आइपीओकै मुल्यलाई सुरुवाती मुल्य बनाएर कारोबार खुलाउँदा पनि कसैलाई मर्का नपर्ने बोर्ड अध्यक्ष हमाल बताउछन्। 

नेप्सेले तोकेको रेन्जको सुरुवाती मूल्यमा म्युचुअल फण्डहरु कमाउने काममा लाग्दा आम लगानीकर्ता गुमाउने र धितोपत्र बोर्ड बदनाम हुने अवस्था आएकाले आजदेखि लागू हुनेगरी धितोपत्र बोर्डले म्युचुअल फण्डको लागि कडा नीति लागू गरेको छ। बोर्डले म्युचुअल फण्डले आइपीओमा प्राप्त शेयर ६ महिनापछि मात्र बिक्री गर्न पाउने व्यवस्था गर्न गराउनलाई  सिडीएससी र म्युचुअल फण्डहरुलाई निर्देशन दिएको छ।

धितोपत्र बोर्डको यो निर्देशनले तत्काललाई शेयर आपूर्ति बढेर सम्बन्धित कम्पनीको मुल्यमा गिरावट आउने कदम रोकिने देखिन्छ ।  तर ३ गुणासम्मको रेन्ज तोकेर आईपीओको भन्दा बढी मूल्यमा कारोबार खुल्ने क्रमले भने निरन्तरता पाउने देखिन्छ। आइपीओकै मुल्यलाई आधार मानेर सुरुवाती कारोबार मुल्य तय गर्दा बढी बैज्ञानिक हुने धितोपत्र बोर्डको सुझाव छ। 

नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेर कारोबार खुलाउने निर्णय नेप्सेको संचालक समितिको निर्णय अनुसार हुने गरेको हो । २०६८ सालसम्म नेटवर्थको ५ गुणासम्मको रेन्ज तोकेर कारोबारको लागि सुरुवाती मूल्य तोक्ने व्यवस्था थियो । २०६८ सालमा त्यसलाई परिमार्जन गरेर नेटवर्थको ३ गुणासम्मको रेन्ज राखेर कारोबार खुलाउने निर्णय नेप्सेको संचालक समितिले गरेको हो ।  

नेप्सेको कुनै बेलाको संचालक समितिको निर्णय अनुसार नै आफुहरुले आइपीओको भन्दा बढी मुल्यसम्मको रेन्ज तोक्ने गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की बताउँछन्।  यो निर्णय अहिलेको समयमा समय सान्दर्भिक भए नभएकोबारे नेप्से  आन्तरिक छलफलमा रहेकोले केहि दिनमा उचित निर्णय लिने सीइओ कार्कीले बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved