चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ अर्ब बढी खुद नाफा आर्जन गरेको छ । साउन देखि असोजसम्मको अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ७२ लाख ५८ हजार ७ सय १९ रुपैयाँ ८२ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७९ करोड ७७ लाख थियो ।
समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रिबाट ३ अर्ब ७१ करोड ५८ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड आम्दानी गरेको थियो।
हाल कम्पनीको चुक्ता पुंजी १५ अर्ब ९९ करोड रहेको छ । कम्पनीको दिर्घकालिन ऋण ७३ अर्ब १ करोड रहेको छ भने अल्पकालीन ऋण ३ अर्ब ३ करोड रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ३० पैसा, र प्रति शेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा रहेको छ ।
कम्पनीले राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गरि २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीका अनुसार दीर्घकालिन ऋण भुक्तानीको सन्दर्भमा नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरूको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी आ.व. २०८०/८१ आश्विन मसान्तसम्ममा नेपाल सरकारको तीन तथा अन्य संस्थाहरूको सात किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको छ ।
विविध कारणहरूले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले हासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले यस आ.व. का साथै आउँदो केहि आ.व. मा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ।कम्पनीको ऋण र स्वपूँजी अनुपातको सुधार गर्न, दोस्रो चरणको निर्माण अन्तर्गतको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्त व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि कम्पनीले १:१ अनुपातमा हकप्रद निष्काशन गरिसकेको छ। हकप्रद बाँडफाँडपछि वित्तीय सूचकहरूमा केही सुधार हुने अपेक्षा कम्पनीले गरेको छ ।
हकप्रद शेयर निष्काशन अन्तर्गत पहिलो चरणमा संस्थागत शेयरधनीहरूबाट ५१% शेयर निष्काशन वापतको रकम रु.५ अर्व ४० करोड ९ लाख प्राप्त गरी बाँडफाँट गरिएकोले कम्पनीको चुक्ता पूँजी बढेर रु. १५ अर्व ९९ करोड ९ लाख भएको हो। उक्त रकमबाट नेपाल विद्युत प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबाट प्राप्त अल्पकालिन ऋण चुक्ता गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हाल, दोस्रो चरणको हकप्रद शेयर निष्काशन अन्तर्गत मिति २०८०/०५/१८ देखि २०८०/०६/ २२ सम्म सर्वसाधारणलाई निष्काशन गरिएको ४९% हकप्रद शेयर बाँडफाँटको प्रक्रियामा रहेको छ । उक्त शेयर बाँडफाँट पश्चात सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त नगरिएको हकप्रद शेयरको लिलामी प्रक्रिया शुरु गरिने र उक्त शेयरहरू पूर्ण रुपमा लिलाम विक्री हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।