शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने एक करोड १६ लाख थान साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो ।
कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्ष देखि मुनाफा समेत प्राप्त गरेको जनाएको छ । शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।