नेप्सेको सिस्टममा तेस्रो कम्पनीको प्रवेशले झस्कियो सरकार, छानविनको लागि निर्देशन !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 09:04:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) तेस्रो पक्षको प्रवेश भएको विषयले नेपाल सरकार झस्किएको छ। नेपाल धितोपत्र बोर्डको एक अध्ययनले नेप्सेको अनलाइन कारोबार प्रणाली नट्स मा तेस्रो पक्षको प्रवेश भेटिएकोले तालुकदार मन्त्रालय अर्थमन्त्रालय झस्किएको हो। 

धितोपत्र बोर्डको उक्त अध्ययन समितिको प्रतिवेदनले स्पष्ट रुपमा वाइको कम्पनीमा तेस्रो पक्षको प्रवेश भएको र तेस्रो पक्षका कर्मचारीहरुले प्रणालीमा छेडछाड गरेको हुन सक्ने उल्लेख गरेपछि अर्थमन्त्रालयले विशेष चासो लिएको स्रोतको भनाई छ। 

"कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र धितोपत्र बजारको नेप्से अनलाइन प्रणाली (नट्स)  संचालन तथा निर्माण गरेको कम्पनी वाइकोमा अर्को तेस्रो पक्षको पनि प्रवेश भएको देखिएकाले अर्थमन्त्रीको विशेष ध्यानाकर्षण भएको हो" स्रोतले भन्यो, "यसको प्राविधिक तथा वित्तिय पाटो अध्ययन गर्नलाई समिति नै गठन गर्न निर्देशन समेत भईसकेको छ, समिति सम्भवत: छिट्टै गठन भएर यसमा थप अध्ययन गर्छ होला।"

अध्ययन समितिको उक्त प्रतिवेदनमा वाईकोमा तेस्रो पक्षको प्रवेश भएको भन्ने उल्लेख भएपनि कसको भन्नेबारे खुलाएको छैन। बिजपाटीलाई प्राप्त जानकारीअनुसार वाइकोमा तेस्रो पक्षको प्रवेश भएको भनेर अध्ययन प्रतिवेदनले आइएमई समुहलाई इंगित गरेको बजार चर्चा छ। 

कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) निर्माण गरि नेप्सेलाई हस्तान्तरण गरेपछि वाईकोमा आइएमई समुहले लगानी गरेको हो। वाईको, र आईएमई समुहको लगानीमा वाईको सोलुसन नामक कम्पनी खडा गरिएको हो।  वाईको सोलुसनमा वाईको प्राली र इ शेयरको लगानी देखाईएको छ । इ शेयरमा भने आईएमइ समुहको लगानी छ । यसरी वाईको सोलुसनमा प्रत्यक्ष र अप्रत्यक्ष गरि आइएमई समुहको ८० , सिडीएससीका पूर्व सीइओ देव कुमार गुप्ताको ५ प्रतिशत र बाँकी १५ प्रतिशत दिपेश प्रधानको नै रहेको बजार चर्चा छ। 

धितोपत्र बोर्डले शेयर बजार सञ्चालन क्षमताको मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधन लगायतका विषयको अध्ययन गर्न गत असोजमा बनाएको अध्ययन समितिले मङ्सिर २५ गते धितोपत्र बोर्डलाई बुझाएको प्रतिवेदनमा 'कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र अनलाइन कारोबार प्रणाली (नट्स) को संचालन तथा मर्मत सम्भार सम्बन्धि कार्य एकै  सेवा प्रदायक कम्पनी मार्फत भईरहेको' भन्ने उल्लेख गरेको थियो। 

तेस्रो पक्ष अर्थात वाईको सोलुसनको नयाँ लगानीकर्ताले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल, डाटा बेस र एक्टिभ डाइरेक्टोरीजस्ता महत्वपूर्ण प्रणालीमा सहज पहुँच पाएको भन्दै प्रतिवेदनले प्रश्न उठाएको हो। वाईको सोलुसन्सले समग्र शेयर व्यवस्थापन तथा कारोबार प्रणालीमा कति समय पहुँच पाएको छ भन्ने विषय नेप्सेको अधिनमा नरहेको पाइएकाले शेयर कारोबारको विश्वसनीयतामाथि शंका गर्ने ठाउँ पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved