२५० को शेयर ९० मा पाउनुपर्ने प्राधिकरणका कर्मचारीको माग, देखाए नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 11:10:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आफुहरुले सहुलियत दरमा प्राधिकरणको आईपीओ पाउनु पर्ने माग गरेका छन् । प्राधिकरणमा रहेका  ४ वटै ट्रेड युनियनका प्रतिनिधिहरुले संयुक्त रुपमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै सहुलियत दरमा आईपीओ पाउनु पर्ने माग गरेका हुन् ।

उनीहरुले ७ प्रतिशत शेयर कर्मचारीले पाउनु पर्ने माग पनि गरेका छन् । ‘प्राधिकरणले ३ सय अर्बको १० प्रतिशत सर्वसाधारण सेयर जारी गर्ने हो भने ३० अर्ब पब्लिकमा जान्छ, हामीले यो ३० अर्बको ७ प्रतिशत कर्मचारीलाई छुट्याउनुपर्छ भनेका छौँ’ एक जना ट्रेड युनियनका प्रतिनिधिले भने, ‘यो भनेको २ अर्ब १० करोड हुन आउँछ, हामीले १० हजार बढी कर्मचारीका लागि यति चाहिन्छ भनेर ध्यानाकर्षण गराएका हौँ, यो स्थायीलाई मात्रै होइन, ज्यालादारीदेखि म्यादी र करारका कर्मचारीलाई पनि हुनुपर्छ ।’

उनले कर्मचारीले सहुलियत दरमा सेयर पाउनुपर्ने पनि माग गरेका छन् । यद्यपी, ध्यानाकर्षण पत्रमा प्रति कित्ता बराबर कति मूल्यमा सेयर दिनुपर्छ भन्ने माग नखुलाइए पनि कर्मचारी युनियनहरुले विगतमा नेपाल टेलिकममा सर्वसाधारण सेयरधनीहरु प्रवेश गर्दाको नजिरका आधारमा प्राधिकरणका कर्मचारीलाई पनि सहुलियत हुनुपर्ने माग गरेका छन् ।

‘टेलिकमले सर्वसाधारणलाई सेयर बिक्रि गर्दा प्रति कित्ता ६ सय रुपैयाँका दरले बिक्रि गरेको थियो, तर कर्मचारीलाई ९० रुपैयाँमा दिएको थियो’ विद्युत प्राधिकरणका एक जना ट्रेड युनियनका अधिकारी भन्छन्, ‘अहिले प्राधिकरणले प्रिमीयममा आईपीओ जारी गर्ने भनेर प्रतिकित्ता २५० रुपैयाँ मूल्य राखेको छ, कर्मचारीका हकमा यो मूल्य लागू हुनु हुँदैन भन्ने हाम्रो माग छ । हामीले टेलिकमको जस्तै प्रति कित्ता ९० रुपैयाँमा सेयर पाउनुपर्छ भनेका छौँ, सेटलमेन्टमा असजिलो हुन्छ भने हामी १ सय रुपैयाँ पनि तिर्न तयार छौँ ।’

ति अधिकारीका अनुसार प्राधिकरणका ४ वटै ट्रेड युनियनले संयुक्त रुपमा ध्यानाकर्षण पत्र सार्वजनिक गरे पनि प्रबन्ध निर्देशक कुलमान घिसिङले छलफलमा बोलाएका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved