धितोपत्र बोर्डमा निमित्तबारे अझै अन्योल, बुधबार बस्ने बोर्ड बैठकले यी २ मध्ये एकलाई छान्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 07:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारीबारे अझै अन्योल कायम रहेको पाईएको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई पठाएको पत्र स्पष्ट नहुँदा बोर्डमा अझै  दैनिक कार्य सञ्चालनको जिम्मेवारीबारे अन्योलता कायम रहेको हो।

अर्थ मन्त्रालयले माघ ७ गते आइतबार धितोपत्र बोर्डलाई पत्र पठाएको थियो । पत्रमा माघ ७ को मन्त्रिस्तरीय निर्णय अनुसार 'बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्न तथा बोर्ड बैठक संचालन / व्यवस्थापन गर्न बोर्डमा कार्यरत मध्ये बरिष्ठतम कार्यकारी निर्देशकलाई जिम्मेवारी तोकिएको' भन्ने व्यहोरा उल्लेख गरिएको छ। 

हाल बोर्डमा ४ जना कार्यकारी निर्देशक छन् । यी ४ जना मध्ये पनि डा. नवराज अधिकारी र विनयदेव आचार्य मध्ये को बरिष्ठ भन्ने अन्योल देखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार डा. अधिकारी भन्दा आचार्य ६ वर्ष अगाडी बोर्डमा नियुक्त भएका हुन्  । त्यस्तै डा. अधिकारी भन्दा आचार्य २ वर्ष अगाडी अधिकृत तहमा बढुवा भएका हुन्। नियुक्ति भएदेखिको हिसाबमा हेर्दा आचार्य नै बरिष्ठ भएको तर पछिल्लो वार्षिक अवधिको समयलाई हेर्दा भने डा. अधिकारी नै बरिष्ठ भएको स्रोत बताउछ । 

तर दैनिक प्रशासनिक कार्य संचालन मात्र गर्न पाउने, करिव डेढ महिना अवधिको लागि मात्र जिम्मेवारी हुने  र सार्वजनिक निष्काशनको स्वीकृति लगायतका अन्य कुनै नीतिगत काम गर्न नपाउने भएकोले आचार्यले जसलाई जिम्मेवारी दिएपनि हुने संदेश दिएको बताईन्छ। यद्यपि डा. अधिकारीले भने आफु नै हुनु पर्ने भन्दै लबिङ गरिरहेको बोर्डका उच्च तहका कर्मचारीअहरु बताउछन्। यस्तो अवस्थामा अझै पनि दैनिक कार्य सञ्चालनको जिम्मेवारीबारे अन्योलता कायम रहेको हो।

अब बुधबार बस्ने बोर्डको संचालक समितिको बैठकले मात्र यस बारे निर्णय गर्ने बताईएको छ ।  धितोपत्र बोर्डमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यको अध्यक्षतामा बोर्डको संचालक समितिको बैठक बस्ने तय भएको छ । बोर्ड अध्यक्षको अनुपस्थितिमा अर्थबाट प्रतिनिधित्व गर्ने संचालकको अध्यक्षतामा बैठक बस्नु पर्ने व्यवस्था छ । सोहि बैठकले अर्थ मन्त्रालयबाट आएको पत्रको आधारमा कसलाई बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्ने जिम्मेवारी दिने छ। सो संचालक  समितिले डा. नवराज अधिकारी वा विनय देव आचार्य मध्ये एक जनालाई बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्ने जिम्मेवारी दिने बताईएको छ। र के के गर्न पाउने वा नपाउने भन्ने बारे पनि स्पष्ट निर्णय गर्ने छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले पनि हालसम्म कसैले दैनिक प्रशासनिक कार्य संचालनको जिम्मेवारी नपाएको र अब बस्ने संचालक समितिको बैठकले यसबारे निर्णय गर्ने जानकारी दिएका छन्  ।

बोर्डका अध्यक्ष रहेका रमेश हमालको कार्यकाल सकिए पछि पुस २१ गतेदेखि बोर्ड नेतृत्व बिहिन छ। सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नको लागि सिफारिस समिति गठन गरिसकेको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved