आफ्नो माग पुरा नगरेको भन्दै शेयर लगानीकर्ताले आन्दोलनको घोषणा गरेका छन्। आज भृकुटीमण्डपमा सम्पन्न लगानीकर्ताको भेलाले उपेन्द्र पाठकको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएको छ ।
कमिटीको सक्रिय सदस्यको रुपमा तिलक कोइराला, दीपेन्द्र अग्रवाल र अन्य विभिन्न लगानीकर्ता संघका अध्यक्षहरु रहेका छन् ।
आन्दोलन परिचालन कमिटीका संयोजक उपेन्द्र पाठकले आफुहरुले मुखमा कालोपट्टि बाधेर, टाउकोमा कालो रिबन बाधेर , तथा प्ले कार्ड बोकेर प्रदर्शन गर्ने बताए। आफुले बोलेको सरकारले नसुनेकोले अब मुखमा पट्टि बाधेर , प्ले कार्ड बोकेर सरकारलाई देखाउने बताए । नसुनेको सरकारले प्ले कार्ड देखोस् भन्नको लागि यो विधि अपनाइने उनको भनाई थियो । उनले सम्भव भएसम्म लगानी सम्मेलन स्थलमा बाइक र्याली पनि गर्ने बताए।
कि सरकारले शेयर लगानीकर्ताको लगानीको सुरक्षा गर्नु पर्ने होइन भने शेयर बजार नै बन्द गर्नु पर्ने उनले बताए । उनले आन्दोलनको क्रममा टायर नबाल्ने, ढुंगामुढा नगर्ने र कसैलाई गालि नगरी सभ्य तरिकाले आन्दोलन गर्ने बताए ।
अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिनुपर्ने, प्रिमियममा आईपीओ निष्कासन गर्ने कार्य बन्द गर्नुपर्ने,सेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने, सेयर धितो कर्जामा लगाइएको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर कायम गर्नुपर्ने, बाफिया ऐनलाई व्यवहारिक बनाइनुपर्ने, तथा बजाररमा संस्थागत लगानीकर्तालाई प्रवेश गराउनु पर्ने माग उनीहरुले अगाडी सारेका छन् ।