नेपाल स्टक एक्सचेन्जमा सुचिकृत चार बाणिज्य बैंकहरुले आज गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन। यससंगै गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको संख्या २३ पुगेको छ। अब ५ बाणिज्य बैंकहरुले वित्तीय विवरण प्रस्तुत गर्न बाँकी छ।
साउन ३० गतेका दिन स्ट्यान्डर्ड चार्टड, कुमारी, नेपाल इन्भेष्टमेन्ट र नेपाल बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन। नबिल बैंकलाई पछ्याउंदै नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत आर्थिक बर्ष खुद मुनाफा ३ अर्ब नघाएका छन। त्यस्तै स्ट्यान्डर्ड चार्टडले १ अर्ब ३८ करोड खुद मुनाफा आर्जन गरेको छ भने कुमारी बैंकले ७० करोड खुद मुनाफा आर्जन गरेको छ।
चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)
"पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। लगानीकर्ताको चाँसोलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण सार्वजनिक भएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको प्रक्षेपण गर्ने अभ्यास थालेको छ"
स्ट्यान्डर्ड चार्टड बैंक
बिदेशी लगानीको स्ट्यान्डर्ड चार्टड बैंकले गत आर्थिक बर्ष १ अर्ब ३८ करोड खुद मुनाफा आर्जन गरेको छ। चार्टड बैंकको खुद मुनाफा बिजपाटी डटकमको प्रक्षेपणसंग ठ्याक्कै मिलेको छ।
यस अवधिमा चार्टड बैंकको चुक्ता पुंजी ४ अर्ब ५७ लाख रहेको छ भने जगेडा कोषमा ८ अर्ब १५ करोड ८८ लाख रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ ११ करोड ५३ लाख रहेको छ भने एफपीओ बिक्री गर्दा प्रिमियमबाट ३ अर्ब ४ करोड ४१ लाख आम्दानी भएको छ।
गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा चार्टडसंग १०६ दशमलब ०५ प्रतिशत लाभांश क्षमता छ। बैंकले शतप्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। शतप्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ११ करोड पुग्नेछ। स्ट्यान्डर्ड चार्टड बैंक सम्बन्धी बिजपाटी डटकमले यस अघि स्ट्यान्डर्ड चार्टड बैंकको १०५ प्रतिशत लाभांश क्षमता, यसरी पुर्याउँदैछ चुक्ता पुंजी ८ अर्ब (रिपोर्ट) शिर्षकमा लेखेको समाचारमा 'गत आर्थिक बर्ष न्युनतम १ अर्ब ३४ करोड खुद मुनाफा आर्जन गरेको अवस्थामा उसले १०५ दशमलब ३ प्रतिशत लाभांश (शत प्रतिशत बोनस र कर प्रयोजनका लागी ५ दशमलब ३ प्रतिशत नगद लाभांश) वितरण गर्न सक्ने हैसियत बनाउनेछ' उल्लेख छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्ष ३ अर्ब १६ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकको कमाई बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा ४ करोडले बढी हो।
यस अवधिमा एनआईबिको चुक्ता पुंजी ८ अर्ब २ करोड रहेको छ भने जगेडा कोषमा ११ अर्ब ७८ करोड रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २४ करोड ६५ लाख रहेको छ भने एस डेभलपमेन्ट बैंकलाई ४१ प्रतिशतको स्वाप अनुपातमा प्राप्ती गर्दा स्वापबाट ७१ करोड आम्दानी भएको छ।
त्यस्तै एनआइबिले एक सय अंकित मुल्यमा ५०१ प्रिमियम गरी प्रति कित्ता ६०१ रुपैयाँमा ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ बिक्री गर्दा उसलाई ४ अर्ब ५४ करोड ३७ लाख प्रिमियम संकलन भएको छ।
गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, एफपीओबाट प्रिमियम संकलन, स्वापबाट प्राप्त आम्दानीको आधारमा एनआईबिसंग ८६ दशमलब ९० प्रतिशतको लाभांश क्षमता देखिन्छ। एनआईबिले २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ११ अर्ब ८ करोड पुग्नेछ।
कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक बर्ष ७० करोड खुद मुनाफा आर्जन गरेको छ। कुमारी बैंकको कमाई बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा केहि करोडले बढी हो।
यस अवधिमा कुमारीको चुक्ता पुंजी ५ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रहेको छ। कुमारीसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ १६ करोड १७ लाख रहेको छ भने स्वापबाट २३ करोड ५७ लाख आम्दानी भएको छ। त्यस्तै अवितरित हकप्रद लिलाम मार्फत बिक्री गर्दा ८ करोड १३ लाख प्रिमियम संकलन भएको छ।
चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत कुमारीको साधारणसभाले २० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरिसकेको छ भने केहि दिनमै निष्काशन अनुमतीका लागि धितोपत्र बोर्डमा आबेदन दिने तयारीमा छ।
गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, एफपीओबाट प्रिमियम संकलन, स्वापबाट प्राप्त आम्दानीको आधारमा कुमारीलेसंग १७ दशमलब ४ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। कुमारीले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ।
नबिल बैंक
अघिल्लो आर्थिक बर्ष २ अर्ब ८१ करोड खुद मुनाफा गरेको बैंकले आफ्नो शाखलाई अझ मजबुत बनाउदै २८ दशमलब ४३ प्रतिशतले बढाएर ३ अर्ब ६२ करोड मुनाफा गरेको छ। नबिलको कमाई बिजपाटीको प्रक्षेपण भन्दा केहि करोडले बढी हो।
६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुंजी भएको नबिल बैंकको चौथो त्रैमासमा जगेडा कोष रकम ४८ प्रतिशतले बढेर ९ अर्ब ३ करोड पुगेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा, प्रति सेयर नेटवर्थ २४६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २६ दशमलब ०२ गुणा रहेको छ। नबिलसंग ५७ प्रतिशतको लाभांश क्षमता रहेको छ। उसले ३० प्रतिशत बोनस सेयर १७ दशमलब ४० प्रतिशत नगद लाभांश दिन प्रक्षेपण गरिएको छ।
नबिल बैंकको कमाई ३ अर्ब ६२ करोड, यसरि पुर्याउंदै छ चुक्ता पुंजी ८ अर्ब
नेपाल बैंक
नेपाल बैंकले गत आर्थिक बर्ष तीन अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको जगेडा कोष रकम ३ अर्ब ५१ करोड रहेको छ। यस अवधिमा नेपाल बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाँ ०३ पैसा रहेको छ।