सेयर मुल्यमा 'घोटाला' भएको हिमालयन डिस्ट्रिलरीको वित्तीय विवरणमा पनि देखियो यस्तो छल!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 05:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा ट्रेडिङ व्यवसाय गर्ने कम्पनीहरु मध्यको एक प्रमुख कम्पनी हो  हिमालयन डिस्ट्रिलरी लिमिटेड। नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत कम्पनीहरु मध्य हिमालयन डिस्ट्रिलरीले पछिल्लो पटक अधिकांश लगानीकर्ताको ध्यान खिचेको छ। 

हिमालयन डिस्ट्रिलरीको सेयर मुल्य एक महिनामा नै प्रति कित्ता १२४० रुपैयाँले बढेर २०५० पुगेको छ। हिमालयन डिस्ट्रिलरीको सेयर मुल्य बढाइयो या बढेको हो ? यसमा महंगोमा उचालिएर सेयर खरिद गर्दा जोखिम के कति छ ? यसबारे सम्बन्धित लगानीकर्ताले नै निर्णय गर्ने कुरा हो। 

तर यसरी सेयर मुल्य एक महिनामा १५४ प्रतिशतले आकासिएको हिमालयन डिस्ट्रिलरीको वित्तीय विवरणले पनि फेरी 'छल' गरेको हो कि भन्ने आशंका जन्मिएको छ। साउन ३० मा सार्वजनिक गरेको वित्तीय विवरणले भने अधिकांश लगानीकर्ताको ध्यानमात्र तानेको छैन बरु अन्यौल नै बनाएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय बिबरणलाई गत आर्थिक बर्षको विवरण मान्ने हो भने हिमालयन डिस्ट्रिलरीले गत आर्थिक बर्ष ३ करोड ८८ लाख ९२ हजार ९९४ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुंजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रहेको छ। कम्पनीको खुद मुनाफालाई यसको सेयर संख्याले भाग गर्ने हो भने प्रति सेयर आम्दानी १० रुपैयाँ ०९ पैसा हुन आउँछ। 

कम्पनीले प्रस्तुत गरेको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै ७६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक बर्षको यस अवधिमा १६ करोड १० लाख ६९ हजार खुद मुनाफा गरेको थियो। कम्पनीबाट उत्पादित रोयल ट्रेजर तथा गोल्डेन ओक ब्राण्डका मदिराको बिक्रीमा कमी आएपछि र गत चैत १७ मा कम्पनीका कामदारहरुको आन्दोलनका कारण सृजित परिस्थितिले नाफा प्रभावित भएको कम्पनीको भनाई छ। 

कम्पनीले प्रस्तुत गरेको प्रति सेयर आम्दानीले महँगोमा उचालिएर सेयर खरिद गर्नेलाई सोच्न बाध्य बनाएको छ। त्यस्तै यस अवधिमा कम्पनीको जगेडा कोष रकम २० करोड २७ लाख रहेको छ। 

तर 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा 'चौथो त्रैमासको प्रतिवेदन (२०७४ बैशाख, जेठ, असार)' भनेको छ। यसले कम्पनीले प्रस्तुत गरेको यो बिबरण गत आर्थिक बर्षको पछिल्लो ३ महिना अर्थात बैशाख, जेठ, असारको मात्र हो भन्ने बुझाएको पाइएको छ। गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ६ करोड ७४ लाख ८५ हजार २६५ रहेको छ। 

"हिमालयन डिस्ट्रिलरीले सार्वजनिक गरेको वित्तीय विवरणको बुँदा २ को उपबुँदा 'ख' मा भने उसको यो बित्तिय विवरण गत आर्थिक बर्षको भएको बताएको छ। कम्पनीले हाइलाइट गरेर बैशाख, जेठ असारको रिपोर्ट हो भनेको छ भने उपबुँदामा गत आर्थिक बर्षको वित्तीय विवरण हो भनेको छ।  यसले लगानीकर्तालाई झनै अन्यौल बनाएको छ।  कम्पनीको विवरणमा उपबुँदा 'ख' लाई आधार मान्ने हो भने उसको प्रति सेयर आम्दानी १० रुपैयाँ ०९ पैसा नै हुन्छ। "

यदी हिमालयन डिस्ट्रिलरीको यो विवरण पछिल्लो ३ महिनाको अलग्गै रिपोर्ट हो भने उसको खुद मुनाफामा तेस्रो त्रैमाससम्मको खुद मुनाफा जोड्नु पर्ने हुन्छ। यस आधारमा कम्पनीको खुद मुनाफा १० करोड ६३ लाख ७८ हजार २५९ हुन आउंछ। यस हिसाबले कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ ५८ पैसा हुन आउंछ। 

यहाँ प्रश्न, प्रती सेयर आम्दानीमा फरक किन बनाइयो भन्ने होइन। प्रश्न हो, यसरी प्रत्येक क्वाटरको वित्तीय विवरण अलग अलग देखाएर लगानीकर्ता झुक्काउन पाईन्छ कि पाइदैन भन्ने हो। यसरी हरेक क्वाटरको बित्तिय विवरण यसरी नै अलग अलग गरी देखाउने हो भने त्यसको पुंजीबजारमा प्रभाब कस्तो रहला ?

यदी कम्पनीको आशय नै ३ महिनाको वित्तीय विवरण प्रस्तुत गर्ने हो भने उसले स्पष्ट रुपमा भन्नु पर्ने हो। यदि त्यस्तो होइन भने कम्तीमा पनि लगानीकर्ता नझुक्किने गरी वित्तीय विवरण प्रस्तुत गर्नु जुनै कम्पनीको पनि जिम्मेवारी हो।

इपिएसमा गडबडीको सम्भावित कारण

कम्पनीको वित्तीय विवरण अनुसार उसको बुक भ्यालु १५२ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ र यस बर्षको कमाई तथा जगेडा कोष रकमबाट कम्पनीले ५० प्रतिशत लाभांश दिन सक्छ। तर कम्पनीले इपिएस १० रुपैयाँ देखाई ३० प्रतिशतको हाराहारीमा लाभांश बाँडेर बजार मुल्य म्यानुपुलेशन गर्न खोजेको हो कि भन्ने आशंका जन्मिएको छ। १० रुपैयाँ इपिएस हुँदा पनि ३० प्रतिशत लाभांश दिंदा लगानीकर्तामा कम्पनीले थोरै इपिएस हुँदा पनि 'गजबको लाभांश' दिने रहेछ भनेर उसको सेयरमा आकर्षण बढ्नेछ। यसले कम्पनीको सेयर मुल्य थप महँगो भई लगानीकर्ताको जोखिम बढ्न सक्ने देखिन्छ। त्यसैले नियमन निकायले बेलैमा यस्तो 'हत्कण्डा' मा ध्यान दिनु जरुरी रहेको छ।  

 त्यसो त सामान्य अभ्यास भन्दा भिन्न तरिकाले वित्तीय विवरण प्रस्तुत गर्नेमा हिमालयन डिस्ट्रिलरी पहिलो कम्पनी भने होइन। यस अघि पनि कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले यसरी नै लगानीकर्ता झुक्काउने गरि वित्तीय विवरण सार्वजनिक गरेको थियो। त्यसबेला बिजपाटी डटकमले बोटलर्स नेपालको यस्तो बदमासीमा धितोपत्र बोर्ड मौन किन ? भन्ने शिर्षकमा समचार तयार पारेको थियो। 

बिजपाटी डटकमले बोटलर्स नेपालको यस्तो कार्य बाहिर ल्याएपछी नियमन निकाय नेपाल धितोपत्र बोर्डले उसलाई (बोटलर्स नेपाल) स्पष्टीकरण समेत सोधेको थियो।  

बोटलर्स नेपालको 'चलाखी'पूर्ण काम नियमसंगत नै भएको धितोपत्र बोर्डको भनाई, यसरी मान्यो बोर्ड

वित्तीय विवरण प्रस्तुत गर्ने प्रक्रियामा एकरुपता नभएको भन्दै धितोपत्र बोर्डले बोटलर्स नेपालको कार्य नियम संगत नै भएको ठहर गरेको थियो। अब नियमन निकायले नै नियम संगत भनेपछी त्यस बिषयलाई हामी (बिजपाटी) ले थाँती राखेका थियौं। तर आज पुन: हिमालयन डिस्ट्रिलरीकोले त्यही घटनालाई 'कपि' गरेको पाइएको छ। वित्तीय बिबरण प्रस्तुत गर्ने प्रक्रियामा समानता ल्याउने काम फेरी पनि धितोपत्र बोर्डकै हो। मिडियाको काम त यहाँ यस्तो भईरहेको छ भनेर जानकारी दिएर सम्बन्धित पक्षलाई सचेत बनाउने मात्र हो।

प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाब या जानकारी छ भने  [email protected] मा इमेल गर्नु सक्नुहुनेछ। 

बिजपाटी समाचार प्रभाब: बोटलर्स नेपालको बदमासीमा धितोपत्र बोर्डको चाँसो,३ दिने स्पष्टिकरण माग


       

   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved