नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीचको सम्झौतासंगै भारतीय एकाधिकार औपचारिक रुपमै समाप्त हुने भएको छ। केही समय अघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएपछी भारतीय एकाधिकार सकिने लगभग निश्चित भएको हो।
रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्ग (Terrestrial Cable Route) बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको हो।
उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले २०७३ मार्ग २१ गते हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन।
चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने बिश्वास गरिएको छ। यसअघि भारतीय मार्गबाट मात्र सम्भव रहेको इन्टरनेट आवद्धता अब चिनियाँ मार्गबाट पनि सम्भव भएको हो।
नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ ।
नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरे। उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरे।
त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए। उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे।