आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गर्ने नेपालको तयारी, १० करोड लाग्ने अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 10:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले पहिलो पटक आफ्नै खर्चमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने तयारी अघि बढाएको बताएको छ। 

नापी विभागका अधिकारीहरुले सगरमाथाको उचाइ नाप्न लाग्न सक्ने १० करोड रुपैयाँसम्मको खर्च उपलब्ध गराउन सरकारलाई अनुरोध गर्न लागिएको जनाएका छन्।

माग गरिए बमोजिम रकम निकासा भएमा आगामी वर्ष उचाइ मापनको विधी, आवश्यक उपकरण लगायतका भौतिक पूर्वाधारको तयारी, आमन्त्रण गरिनुपर्ने विज्ञ र अन्य जनशक्ति समेतका विषयको टुङ्गो लगाईने बताइएको छ।

त्यसपछि लगत्तै कार्यक्षेत्रमा खटिने गरि सर्वेक्षणको प्रारम्भिक योजना बनाइएको नापी विभागका महानिर्देशकले बताएका छन्।

तत्कालिन ब्रिटिश इण्डियामा सर्वेक्षकका रुपमा कार्यरत रहेका भारतीय सर्वेक्षण विभागका राधानाथ सिकधरले गणितीय विवरण तयार पारी सन् १८४९ मा सगरमाथाको उचाइ पहिलो पटक पत्ता लगाएको बताइन्छ।

भारतीय सर्वेक्षकहरुले सुरुमा सन् १८४७ मा दार्जिलिंग नजिकैबाट पहिलो पटक सगरमाथा देखेपछि यो विश्वको अग्लो हिमाल हुनसक्ने आँकलन गरेको बताइन्छ।

तर गणितका विद्वान कलकत्ताका सिकधरले पत्ता लगाएको उक्त जानकारी थप पुष्टी गरी सन् १८५६ मा उसबेला 'पिक फिफटिन' भनिने सगरमाथाको उचाइ ८,८४० मिटर घोषणा गरियो।

त्यसै बेला सिकधरका हाकिम रहेका तत्कालीन सर्वेयर जेनरल अफ इण्डिया कर्णेल एण्ड्रयु वाले आफ्ना पूर्ववर्ती एवं प्रख्यात सर्वेक्षक जर्ज एभरेष्टको नाममा सगरमाथालाई 'माउन्ट एभरेष्ट' नामाकरण गरेका थिए।

त्यस यता सगरमाथाको उचाइ मापन गर्न विभिन्न अध्ययन गरिएपनि अहिले मान्यता दिइएको ८८४८ मिटरको उचाइ भने सन् १९५५ मा नापिएको थियो।

त्यस यता सगरमाथाको उचाइ थप बढेको भन्दै दाबी गरिएका थिए र दुई वर्षअघि नेपालमा गएको शक्तिशाली भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने आँकलन गरिंदै आएको छ।

नेपाल आफैंले सर्वेक्षण गरि विस्तृत विवरण सहितको नाप नक्सा तयार गर्नुपर्ने विभिन्न क्षेत्रबाट माग आएपछि पछिल्लो तयारी अघि बढाइएको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताए।

उनले भूकम्पपछि हुनसक्ने चासो समेतलाई सम्बोधन गर्नका लागि सगरमाथाको उचाइबारे नयाँ सर्वेक्षण गरिनुपर्ने जनाए।

नापी विभागका अनुसार सन् १८५५ यता भारत, चीन, अमेरिका, इटली, डेनमार्क लगायत देशका सम्बन्धित विज्ञहरुले पटकपटक सगरमाथाको उचाइ मापन गरेका छन्।

नेपालले पनि पछिल्ला वर्षहरुमा उचाइ मापनका लागि प्रयत्न गरेको भएपनि बजेट अभाव र सरकारको प्राथमिकतामा नपरेका कारण मापन गर्न नसकिएको अधिकारीहरु बताउँछन्।

हिमालको उचाइ नाप्नका लागि उच्च हिमाली भेगमा धेरै समय खटिनुपर्ने, शेर्पा सहितका जनशक्तिलाई तालिम दिनुपर्ने र अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि विज्ञहरुको सहयोग लिनुपर्ने बताइन्छ।

नापी विभागका महानिर्देशक भट्ट भन्छन्, "तराईबाट मापन गर्दै हामीले माथिसम्म पुग्नुपर्ने हुन्छ। त्यस्तै किसिमका महंगा उपकरण र यन्त्रहरु खरिद गर्नुपर्ने हुन्छ। अहिलेको हकमा १० करोड रुपियाँसम्म लाग्ने हामीले अनुमान गरेका छौँ।"

गत जनवरी महिनामा भारतीय सर्वेक्षण विभागले आफ्नो स्थापनाको २५०औं वर्षगाँठ मनाउने लक्ष्य सहित सगरमाथाको उचाइ पुन: मापन गर्न एउटा टोली खटाउने घोषणा गरेको समाचारहरु आएका थिए।

तर नापी विभागका अधिकारीहरुले त्यसबारे हालसम्म नेपाल सरकारसमक्ष कुनै पनि औपचारिक प्रस्ताब नआएको जनाएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved