नेकपा एमालेका दुई प्रभाबशालि नेताको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ। प्रदेश नम्बर १ र ३ को संसदीय दलको नेता छान्न शुक्रबार भएको निर्वाचनबाट यी दुई ‘हेभिवेट’को सपना तुहिएको हो ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा १ नम्बर प्रदेश कमिटिका इन्चार्ज समेत रहेका भीम अचार्य पराजित बने । एमाले सचिव आचार्य १ नम्बर प्रदेश कमिटिका सह-इन्चार्ज समेत रहेका शेरधन राईसँग २ मतले पराजित भए।
मुख्यमन्त्री बन्ने उद्धेश्य सहित प्रतिनिधिसभा छोडेर प्रदेशसभामा निर्वाचन लडेका आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भए । तर संसदीय दलको नेतामा निर्वाचित हुन सकेनन् । राईले २६ मत ल्याउँदा आचार्यले २४ मत मात्र ल्याए।
यससंगै केन्द्रबाट प्रदेश झरेका आचार्यको मुख्यमन्त्री बन्ने सपना साकार हुन सकेन। आचार्यलाई पराजित गरेका राई अबको केही दिनमै १ नम्बर प्रदेशको मुख्यमन्त्री चयन हुने पक्का पक्कि छ।
प्रदेश ३
प्रदेश नम्बर तीनको संसदीय दलको निर्वाचनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अप्रत्याशित पराजय भोगिन् । एमाले उपाध्यक्ष रहेकी शाक्य मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका डोरमणी पौडेलसँग पराजित भइन् ।
शाक्यभन्दा १० मत बढी ल्याउँदै पौडेल संसदीय दलको नेतामा चयन भएका हुन् । शाक्यले २४ मत ल्याउँदा पौडेलले ३४ मत ल्याएका छन् । यो प्रदेशको मुख्यमन्त्रीका लागि शाक्य र राजेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, अन्तिम अवस्थामा पाण्डे पछाडी हटे र शाक्य र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । संसदीय दलको नेतामा चयन हुन चुकेकी शाक्यको मुख्यमन्त्री सपना साकार हुन सकेन ।
दुई ‘हेभिवेट’ दलको नेता चयनमा पराजित हुँदा प्रदेश नम्बर चारका अर्का ‘हेभिवेट’ को के होला भन्ने चासो बढेको छ। एमाले सचिव पृथ्वीसुब्बा गुरूङ चार नम्बर प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका छन् । उनीसँगै स्थायी समिति सदस्य किरण गुरूङ पनि मुख्यमन्त्रीको दौडमा रहेका छन् ।
आइतबार (भोलि) यहाँ संसदीय दलको नेता छान्न निर्वाचन हुनेछ । बाँकी ६ प्रदेशसमा मुख्यमन्त्रीको लगभग टुंगो लागिसकेको छ । यस्तो अवस्थामा चार नम्बर प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।
प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक सांसद छन् । प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे रहेका छन् ।
यी हुन् मुख्यमन्त्री
प्रदेश नम्बर १ः शेरधन राई
प्रदेश नम्बर २ः लालबाबु रावत
प्रदेश नम्बर ३ः डोरमणी पौडेल
प्रदेश नम्बर ४ः टुंगो लाग्न बाँकी
प्रदेश नम्बर ५ः शंकर पोखरेल
प्रदेश नम्बर ६ः महेन्द्रबहादुर शाही
प्रदेश नम्बर ७ः त्रिलोचन भट्ट