बालुवाटारमा बसेको नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समिति बैठक सकिएको छ । बैठकले एकताका बिषयमा यसअघि दुई पार्टीले गरेको निर्णय अनुमोदन गरेको छ। त्यस्तै आजै अपरान्ह ४ बजे नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ । बैठकले एकतापछिको नयाँ पार्टीको पहिलो बैठक पनि आजै बस्ने निर्णय गरेको छ ।
अब दुवै पार्टीको अन्तिम केन्द्रीय कमिटि बैठक बसेर एकता प्रक्रियालाई अनुमोदन गर्ने छ। त्यसपछि दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटि बैठक बस्ने र एकीकरणको निर्णयसहित निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी छ । ४ बजे एकिकृत पार्टीको तर्फबाट पत्रकार सम्मेलन गरी यसको जानकारी दिने तयारी छ ।
सहमति अनुसार एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै स्थायी कमिटीमा ४३ जना हुनेछन् । ४३ जना मध्ये एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।
आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्। महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी भएको छ।