चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा नेपाल आएको चिनिया उद्यमी व्यवसायीको टोलीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित पदाधिकारीसँग भेट गरेको छ । उपाध्यक्ष चाङ अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पनि हुन ।
आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैह्र सरकारी सहयोग मंचको बैठकको तयारी भेटघाटका लागि नेपाल आएको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा चिनिया लगानीका लागि सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भएको छ । भेटमा महासंघले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चीनिया पक्षलाई आग्रह गरेको छ ।
चीनको एक्जिम बैंकको कुइचाओ शाखा नेपालमा लगानी गर्न सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालीम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार भएको छ । छलफलमा आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा हुने नेपाल चीन गैह्र सरकारी सहयोग मंचको बैठकमा नेपालले कृषि, पर्यटन, शिक्षा, उर्जा तथा पूर्वाधार लगायतका क्षेत्रमा छलफल राख्ने प्रस्ताव गरेको छ । भेटमा अध्यक्ष राणाले लगानी, प्रविधि तथा विकासको मोडल आदि कार्यमा सहयोग गर्न प्रतिनिधि मण्डललाई आग्रह गरिन ।
चिनिया प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ सहित उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड नेपालमा समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।