बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास) चौथौ शिखर सम्मेलनलाई ध्यानमा राखेर सरकारले सुरक्षा योजना लागू गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा समितिले सुरक्षाको ढाँचा तयार पारेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।
उचित व्यवस्थापनका लागि बिमस्टेक सदस्य राष्ट्र भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाईल्याण्डका राष्ट्र तथा सरकार प्रमुखको काठमाडौं बसाईका क्रममा हुने सुरक्षा विश्लेषण गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको अघिल्लो नेपाल भ्रमणका आधारमा सुरक्षा व्यवस्थापनको विश्लेषण गरी तयारी गरिएको छ। त्यसबाहेक म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका आन्तरिम मन्त्रिपरिषद प्रमुख यो पो छिरिङ वाङचुकको पनि सुरक्षा विश्लेषण गरी सोही अनुसार तयार गरिएको प्रबक्ता सुवेदीले जानकारी दिए।
विशिष्ट पाहुना, उनका आफन्त, मन्त्री र सचिवको आन्तरिक सुरक्षा नेपाली सेनाले गर्नेछ भने सम्मेलन स्थल र स्कर्टीङको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ। सेनाले बिमस्टेक सम्मेलन अवधिभर गस्ती गर्ने जिम्मेवारी पाएको छ । पुलपुलेसा र अग्ला भवनहरुबाट सशस्त्र प्रहरीले सुरक्षा दिने साथै पैदल गस्ती समेत बढाउने जनाइएको छ।
नेपालमा म्यानमारबाट शरण लिन आईपुगेका रोहिग्या समुदायको सम्भावित प्रदर्शन सुरक्षाका निकायका लागी चुनौती रहेको विश्लेषण गरिएको छ। नेपालमा ५ सय रोहिग्या शरणार्थी छन्।
यसैबीच, प्रहरीले बिशिष्ट पाहुना आईपुग्ने समय एयरपोर्टदेखि कार्यक्रमस्थल सोल्टी होटलसम्मको रुटमा सवारी व्यवस्थापनको पुर्वाभ्यास गरेको छ। एयरपोर्ट, सिनामंगल, तिनकुने, थापाथली, हुँदै त्रिपुरेश्वर, कालीमाटी देखी सोल्टी होटलसम्म सवारी र सुरक्षा व्यवस्थापनको पुर्वाभ्यास गरिएको हो । सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ।