अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को १९औँ वार्षिक साधारणसभाको अवसरमा उनले भने “हामी सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा छौँ, अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पारिनु हुँदैन, यसले निजी क्षेत्रमा निरासा उत्पन्न हुन्छ ।”
अर्थमन्त्री डा खतिवडाले बजेट अनुशासनमा आएको र केही आलोचना खेप्नुपरे पनि मुलुककै हितमा रहेको स्पष्ट पारे। संरचनागत कमजोरीले व्यापार घाटाका चुनौती बढेको उल्लेख गर्दै उनले निर्यातमुखी अर्थतन्त्रको विकासमा अघि बढ्नु पर्ने बताए।
निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उनको जोड थियो । अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम कानून निर्माण भइरहेको पनि जानकारी दिए ।