प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ। बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फछ्र्यौट विधेयक रहेका छन् ।
बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा। युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेका थिए।
अर्थन्त्री डा. खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक २०७५ आएको जानकारी दिए। यो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिएका थिए।
आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए। विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिएका थिए।