सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनआन्दोलन शब्द थपेर जनयुद्व दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएपनि एकतापछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो।
नेकपाका पुर्वमाओबादी नेताहरुले जनयुद्ध दिवस मनाउन खोजेपनि पूर्व एमाले नेताहरु जनयुद्ध दिवस मनाउने पक्षमा नभएपछि नेकपा भित्र अन्यौलपूर्ण वातावरण बनेको थियो। तर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएपछि अन्तत शब्द थपेर नेकपाले उक्त दिवस मनाउने भएको हो।
तत्कालिन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालिन एमाले उक्त दिवस नमनाउने पक्षमा थियो। गत वर्ष दुई पार्टीबीच एकता भएको थिएन। तर, एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले फागुन एक गते - ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ आयोजना गरिएको ट्विट मार्फत् जानकारी दिएका छन्। कार्यक्रम केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ।
नेकपाको केन्द्रीय कार्यलयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले गरेको निमन्त्रणा पत्र अनुसार उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागि हुनेछन्। ओली भने पार्टी कार्यालयको कार्यक्रममा सहभागि हुने छैनन्।
दुई पार्टीबीच एकताको क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो। सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको तत्कालिन एमाले पछि पछाडी हटेको थियो। पार्टी एकताको विधानमा जनयुद्ध शब्द राखिएको थियो।