त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका यात्रुको खोजीमा ५ जिल्लाका सुरक्षाकर्मी परिचालन भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुलीमा खसेको बस खोज्न जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लाको पनि सहयोग माग गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि ती सबै जिल्लाका प्रहरी खोजीका लागि नदी किनारामा जुटेका छन् ।
गत शुक्रबार सर्लाहीको मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ । उक्त बसमा सवार १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएका छन् ।