प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य ठीक भएको उनको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्वास्थ्य ठीक भएकाले ओलीले शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने जनाएका छन् ।
बिहीबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको थियो। तर उनको स्वास्थ्यमा थप समस्या आएको र सिंगापुर लैजाने तयारी भएको भन्ने समाचारहरु आएका थिए ।
उक्त समाचारहरुको खण्डन गर्दै रिमालले ट्विटमा लेखेका छन्, "सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भयो ।"
रिमालले केही मिडियामा आएका अफवाहहरु निराधार भएको बताएका छन् । उनले थप लेखेका छन्, "यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन् । प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोलि (शुक्रबार) बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।" प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबारमात्रै स्वदेश फर्किएका थिए ।