शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवी लामिछाने सहित ३ जना आइतबार पनि हिरासत मै रहने भएका छन् । अदालतमा बयान नसकिएपछि उनीहरुलाई अदालतले प्रहरी कै जिम्मा लगाएको हो । अब भोली सोमबार बयान सुरु भई थुनछेक बहस हुने छ ।
अदालतका अनुसार आज अस्मिता कार्कीको मात्र बयान लिईएको छ । रवी लामिछाने र युवराज कंडेलको बयान भोली सोमबार लिइने छ । न्यायाधीश हेमन्त रावलको एक नम्बर इजलाशमा उनीहरुको बयान भएको हो ।
आज आइतबार उनीहरु ३ जना बिरुद्द बिरुद्द अदालतमा अभियोग-पत्रदायर भएको थियो । उनीहरु विरुद्द सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा अभियोग पत्र दायर गरेको हो । पत्रकार शालिकराम पुडाशैनिले न्युज २४ छोडेपछिका घटनाक्रममा भेटिएका प्रमाणलाई आधार बनाएर अभियोग पत्र दायर भएको हो ।
सोमबार बयान सकिएपछि थुन छेक बहस हुने छ । यो थुनछेक बहसपछि ३ वटा मध्ये एउटा आदेश आउँने छ । साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष, धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष र थुनामै राखेर मुद्दा पुर्पक्ष । यस्तै प्रकृतिका पछिल्ला ५ घटनामा ३ वटामा फैसला भएको र दुईवटा केश तारेखमा छाडेको पाईएको छ। यसलाई आधार मान्दा अदालतले रवीलाई पुर्पक्षमा धरौटीमा रिहाई गर्ने सम्भावना भएको बताइएको छ।
आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको बताएका थिए। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ अनुसार आरोप प्रमाणित भए आरोपित ५ वर्षसम्म जेल र ५० हजार जरिवानाको भागिदार हुनेछन।
पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ ।
त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन्।