नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भाँडभैलो नगर्न सुझाव दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवा र बरिष्ठ नेता पौडेलप्रति निकै कटाक्ष गरे ।
‘तपाईंहरू मर्नुहुन्न, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदजस्तै ९०/९५ वर्ष बाँच्नुहुन्छ, कसले के खाने ? के भाग लिने ? मिलेर खानुस्, मिलेर लिनुस्’ गिरीले थपे ‘ज्योतिषलाई देखाउने हो कि गोलाप्रथा गर्ने हो कि, निर्णय गर्नुहोस्, मर्नुभन्दा पहिला प्रधानमन्त्री र पार्टी सभापति सबै चीज हुनुहुन्छ ।’
आगामी महाधिवेशनमा सभापतिको दौडमा को अघि पुग्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला गिरीले निकै आक्रोशित हुँदै भने, ‘तपाईंहरू सभापति र प्रधानमन्त्री बन्ने होडमा पार्टीभित्र भाँडभैलो नगर्नुहोस्, दुई जना बसेर सल्लाह गर्नुहोस्, पालैपिलो खानुहोस् ।’