निजि क्षेत्रको दुर संचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । कम्पनीले आज बिहिबारबाट काठमाडौं उपत्यका , नगरकोट, बनेपा र धुलिखेलमा एकैपटक फोरजी सेवा सुरु गरेको हो ।
फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले फोरजी सेवा लिन सक्ने ऐंसेलले जनाएको छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे ।
एनसेलले आगामी ७ महिना सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।
ऐंनसेलले सेवा सुरु गरेको अवसरमा ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गरेको छ। त्यस्तै ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिकएपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् ।
हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई मोबाइल सेवा र ६० लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको जनाएको छ । नेपाल टेलिकमले यस अघि नै फोरजी सेवा सुरु गरिसकेको छ ।