आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसंग पराजित भएको छ। जिम्बाबेको बुलायाओस्थित मैदानमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १९५ रनको लक्ष्य ३८ ओभरमा पुरा गर्दै अफगानिस्तानले प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको छ। अफगानिस्तानका लागि नाजिबुल्लाह जर्दनले सर्वाधिक ५२ रन जोडे।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रनको योगफल तयार पारेको हो । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साह चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानको बलमा एलबीडब्ल्यू आउट भए ।
त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।
ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन मात्रै बनाउन सके । रोहितकुमार पौडेल एक रनमै आउट हुँदा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रनमा आउट भए । त्यस्तै आरिफ शेख ३६ बलमा ३ चौका सहित २३ रन बनाएर आउट भए भने सोमपाल कामी पनि ९ रनमा आउट भए ।
प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको नेपालको विश्वकप छनौट यात्रा झनै कठिन बनेको छ। आफ्नो तिनै खेलमा हार बेहोरेको नेपाल शुन्य अंक सहित समुह तालिकामा अन्तिम स्थानमा छ। अब नेपालले आफ्नो अन्तिम खेल हंगकंगसंग खेल्नेछ।
अर्को खेलमा हंगकंग लगभग हारको नजिक पुगेको छ। यससंगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कायम नै छ। हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ। यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङ्गो लाग्नेछ।