पाकिस्तान अपराजित रहँदै विश्वकप क्रिकेटको सेमिफाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 08:17:54 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान आइसिसी टि–२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । 

पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । 

जितको लागि १९० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो । स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले ३७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १७, कप्तान काइल कोट्जर ९ र म्याथ्यु क्रस ५ रनमा आउट भएका थिए । माइकल लिस्क १४ बलमा २ चौका सहित १४ रनमा आउट भए ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ४७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक १८ बलमा १ चौका र ६ छक्का सहित ५४ रनमा अविजित रहे । मलिकले अन्तिम ओभरको अन्तिम बलमा डीप मिडविकेटमा स्पिनर क्रिस ग्रीव्सलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए । ग्रीव्सलाई अन्तिम ओभरमा मलिकले ३ छक्का र १ चौकासहित २६ रन बनाए । 

बाबरको टि–२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेल मध्य चौथो अर्धशतक हो । टि–२० एकै विश्वकपमा यसअघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए । उक्त कीर्तिमान बाबरले बराबरी गरेका हुन् । कप्तानको रुपमा टि–२० आईमा बाबरको १५ औं अर्धशतक हो । बाबरपछि कप्तानको रुपमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १३ अर्धशतक प्रहार गरेका छन् ।

पाकिस्तानलाई ओपनर बाबर र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ६.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । १९ बलमा १ छक्का प्रहार गरेका रिजवान १५ रनमा आउट भएका थिए । 

१०औँ ओभरको चौथो बलमा क्रिस ग्रीव्सले फखार जमानलाई ८ रनमा क्याच आउट गराए । त्यसपछि मैदान छिरेका मोहम्मद हफिजले १९ बलमा ४ चौका र १ छक्का सहित ३१ रन बनाए । आसिफ अली ५ रनमा अविजित रहे । स्कटल्यान्डका क्रिस ग्रीव्सले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । हम्जा ताहिर र शफ्यान शरीफले १–१ विकेट लिए ।

पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रह्यो । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलिया आमनेसामने हुनेछन् । 

फाइनल आइतबार हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved