न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 08:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक आइसिसी टि–२० विश्वकपको फाइनलमा पुगेको हो ।

न्युजिल्यान्डले उपाधिको लागि अब अष्ट्रेलिया र पाकिस्तानबीचको खेलको विजेतासँग आइतबार खेल्नेछ । 

जितको लागि १६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहे । न्युजिल्यान्डलाई अन्तिम ४ ओभरमा ५७ रन आवश्यक थियो । तर १७ औं ओभरमा क्रिस जोर्डनलाई जिमी निशमले २३ रन हानेपछि खेल नै मोडियो । 

१८ औं ओभरको दोस्रो बलमा जिमी निशम र चौथो बलमा डर्याल मिचेलले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले खेलमा आशा फर्काएको थियो । १८ औँ ओभरकै अन्तिम बलमा निशम कभरमा ओईन मोर्गनबाट २६ रनमा कभरमा समातिए । निशमले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९ औैं ओभरको दोस्रो र तेस्रो बलमा डर्याल मिचेलले क्रिस वोक्सलाई छक्का प्रहार गरेपछि न्युजिल्यान्डले फाइनल यात्रा पक्का गरेको हो ।

२००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । 

दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved