प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लवले बाँडेका छन् । फाइनल खेल बर्षाले प्रभावित भएपछि सर्बाधिक पुरस्कार राशिको यस प्रतियोगितमा दुवै टोलीलाई संयुक्त रुपमा बिजेता घोषणा गरिएको हो ।
दुवै टोलीले समान १५ -१५ लाख पुरस्कार हात पारेका छन् । बिजेताले पाउने २० लाख र उपविजेताले पाउने १० लाख गरी ३० लाखको आधा आधा गरेर दुवै टोलीले १५–१५ लाख रुपैयाँ नगद पुरस्कार पाएका हुन् ।
टस हारेर पहिले ब्याटिंग गरेको पुलिसले ४५.१ ओभरमा अल आउट हुदै १२६ रन मात्र जोड्न सक्यो । पुलिसका लागि सुनिल धमलाले सर्बाधिक ३२ रन जोडे । पुलिसलाई सस्तो मै समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुशन भारीले ३ विकेट लिए ।
१२७ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको आर्मीले २.३ ओभरमा १ विकेटको क्षतिमा ७ रन बनाउँदा पानि परेको थियो । त्यस पछि खेल हुन् नसकेपछि दुवै टोलीले उपाधि बाडेका हुन् ।
आर्मीका सागर पुन म्यान अफ द सिरिज बने । गत जेठ ९ गतेबाट सुरु भएको सर्बाधिक पुरस्कार राशीको राष्ट्रिय प्रतियोगितामा साविकका पाँच बिकाश क्षेत्र र तीन बिभागीय टोलीको सहभागिता थियो ।
फोटो: cricketingnepal .com