
ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र युएई भिड्ने भएका छन्। समुह चरणको सबै खेल सकिंदा नेपालले युएईलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । समुह चरणको पछिल्लो खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसंगै यो समीकरण तयार भएको हो ।
समुह ए मा रहेको नेपाल समुह चरणको सबै ४ खेल जित्दै ८ अंक सहित समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह बि मा रहेको युएई भने ४ मध्ये ३ खेल जित्दै ६ अंकको साथ समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समुह ए को बिजेता र समुह बि को उप बिजेता सेमिफाइनलमा खेल्ने भएकोले सेमिफाइनलमा नेपाल र युएई भिड्ने भएका हुन् ।
दोस्रो सेमिफाइनलमा भने ओमान र हंगकंग भिड्ने भएका छन् । समुह बि मा रहेको ओमान सबै ४ खेल जितेर ८ अंक सहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो । समुह ए मा रहेको हंगकंग भने ४ मा २ खेल जितेर ४ अंक सहित उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
यो प्रतियोगितामा नेपाल सहित १० वटा टिम सहभागी रहेका थिए । जसमा समुह ए मा नेपाल सहित हंगकंग, मलेशिया, कतार र साउदी अरेबिया थिए। समुह बि मा बहाराइन, कम्बोडिया, कुवेत,ओमान र युएई थिए । दुवै समुहका समुह बिजेता र उप बिजेताले सेमिफाइनलमा स्थान बनाउने प्रावधान थियो। प्रतियोगिताको फाइनल जित्ने टिमले एशिया कप खेल्न पाउने छ।