रामेछाप र दोलखा जिल्लाको सीमानामा पर्ने सैलुङ क्षेत्रमा विमानस्थल बनाउने विषय अहिले चर्चामा छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सैलुङमा विमानस्थल बनाउने प्रस्ताव अगाडि सारेपछि अहिले यसको स्वागत र आलोचना भईरहेको छ ।
नेकपाका नेता बामदेव गौतमको संयोजकत्वमा रहेको सात सदस्यीय कार्यदलले सैलुङमा पर्यटन उद्योगको विकासका लागी १० वर्षभित्र विमानस्थल निर्माण गर्नु पर्ने प्रस्ताव ल्याएको हो । उक्त कार्यदल तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता संयोजन समितिद्वारा सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन गठित कार्यदल हो ।
गौतम संयोजक रहेको कार्यदलमा भिमबहादुर रावल, डा. युवराज खतिवडा, डा. विजय पौडेल, गिरिराजमणी पोख्रेल, वर्षमान पुन र डा. मीनबहादुर श्रेष्ठ सदस्य थिए ।
नेकपा कार्यदलले विमानस्थल निर्माण गर्ने प्रस्ताव ल्याएपछि अहिले रामेछाप र दोलखामा यसको बहस सुरु भएको छ । सैलुङ, रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा, दोलखाको सैलुङ गाउँपालिकका र मेलुङ गाउँपालिकाको संगम स्थल हो ।
कार्यदलको प्रस्तावमा रामेछापका स्थानीय तहको आपत्ति
रामेछापको खाँडादेवी गाउँपालिका सैलुङको सिमानासम्म पुगेको छ । खाँडादेवीको वडा नम्बर ७ सैलुङसँग जोडिएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ सैलुङमा एअरपोर्ट बनाउने प्रस्तावको विरुद्धमा गाउँपालिकाले सरकारलाई सचेत गराउने बताउँछन् । ‘सैलुङको प्राकृतिक संरचना मासेर विमानस्थल बनाउने कुरा गलत हो, हामी प्रदेश र केन्द्र सरकारलाई सचेत गराउँछौँ’ उनले भने, ‘सैलुङलाई पदमार्गको रुपमा विकास गरिनुपर्छ, यातायातको सहज पहुँचले मात्रै पर्यटकीय गन्तव्य बन्दैन’ विजपाटीसँगको टेलिफोन संवादमा उनले भने ।
सैलुङको धेरै हिस्सा ओगटेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ सैलुङमा विमानस्थल बनाउने कुरा उचित नभएको बताउँछन् । ‘सैलुङलाई पैदल मार्गका रुपमा विकास गर्नुपर्ने गन्तव्य हो, एअरपोर्ट बनाउने कुरा उचित होईन’ उनले विजपाटीसँग भने, ‘ठोस कुरा आईसकेको छैन, तर यसो हुँदा वाताबरणीय प्रभाव पर्छ र सैलुङको अस्तिव्व नै जोखिममा पर्छ ।’
सैलुङको विकास र प्रवद्र्धन गर्न ३ नम्बर प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको जनाएको छ । दोरम्बा गाउँपालिकाले सैलुङ महोत्सवका लागी २० लाख रुपैयाँ छुट्याएको छ । सैलुङ दोलखा र रामेछापको सिमानामा पर्छ । त्यसैले दोलखा जिल्लाका सैलुङसँग जोडिएका गाउँपालिकालाई साथमा लिएर यहीवर्ष भित्र महोत्वस सक्ने तयारी गाउँपालिकाको छ । सैलुङलाई पैदल मार्गका रुपमा विकास गरी पर्यटकीय गन्तव्यका रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको र केही दिनमै मिति तय हुने दोरम्बा गाउँपालिकाका अध्यक्ष तामाङले बताए ।
सुनापति गाउँपालिका भने सैलुङमा विमानस्थल बनाउने कुरा अध्ययन गरेर अघि बढाउँदा उचित हुने सुझाव दिन्छ । सगरमाथा आधार शिविर जाने पर्यटक मन्थलीमा बस्न मन नपराउने हुँदा उच्च भु–भागमा विमानस्थल आवश्यक भएको र सैलुङ आसपासमा बनाउने कुरा स्वागतयोग्य भएको उनको भनाई छ ।
सैलुङका सय वटा थुम्का मासेर भने विमानस्थल बनाउन नदिने उनको भनाई छ । ‘सैलुङभन्दा केही तल अग्लेश्वर भन्ने ठाउँ छ, त्यहाँ बनाउन सकिन्छ’ उनले भने, ‘त्यहाँ बनाउँदा काठमाडौँबाट १५ मिनेटमा आईपुगिन्छ, मन्थलीमा गर्मी भएका कारण विकल्पको रुपमा प्रयोग गर्न विमानस्थल बनाउने कुरा राम्रो हो ।’
सिन्धुलीको कुशेश्वर, रामेछापको खाँडादेवी र अग्लेश्वरी हुँदै सैलुङसम्मलाई पदमार्गका रुपमा नै विकास गर्नुपर्ने विज्ञको सुझाव छ । पर्यटक पथप्रदर्शकका रुपमा लामो समय अनुभव लिएका एक जना शेर्पा पर्यटन व्यवसायी सैलुङमा भ्यू टावर बनाएर त्यहाँको प्राकृतिक संरचना नै विटुलो बनाईएको बताउँछन् । एअरपोर्ट बनाउने कुरा त उनले सुन्न पनि चाहनेनन् । उनले भने, ‘विदेशमा पर्यटकीय गन्तव्यको प्रचार पैदल मार्गमार्फत प्रकृति जोगिने गरी गरिन्छ, हामी प्रकृतिले दिएको उपहार मासेर एअरपोर्ट बनाउने कुरा गर्छौ ।’
सैलुङको अर्थ सय लुङ अर्थात् सय वटा थुम्का हो । समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १ सय ८ वटा थुम्का छन् । त्यसैले यस क्षेत्रलाई सय लुङ अर्थात् सैलुङ भनिन्छ ।