हानले भन्यो, ‘होटलले बैंकलाई तिर्नुपर्ने साँवा र ब्याज तिर्ने समय बढाइदिनुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 07:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)ले क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकिरहेको बताएको छ । हानकी अध्यक्ष सृजना राणाले एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमन तथा गतिविधिको कमीले होटलहरुले सञ्चालन खर्च धान्न नसकिरहेको बताएकी हुन् । 

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पु¥याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकिरहेको राणाको भनाई छ । 

कोरोना महामारीको असर समाधान नहुँदै रसिया–युक्रेनको जारी युद्धको प्रभाव, तीव्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पु¥याएको र पर्यटक बढी आउने समयमै आसन्न निर्वाचनले समेत पर्यटन आगमन र गतिविधिलाई घटाउने दाबी हानको छ ।  

चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउन लागिपरेको भए तापनि राज्यबाट कुनै सुनुवाई नभएकोले व्यवसायी स्वयम् सरोकारवाला मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक तथा अन्य निकायमा दिनहुँ पहल गरी विभिन्न सुझावहरु प्रस्तुत गरी निरन्तर पुनरुत्थानको लागि प्रयासरत रहेको अध्यक्ष राणाले बताएकी छिन् । 

बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउन बैंकहरुले गरेको तीव्र ताकेता आफूहरुको आजको सबैभन्दा जटिल समस्या भएको हानले जनाएको छ । 

‘हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ’ राणाले भनेकी छिन् । 

बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने माग पनि हानले गरेको छ । 

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको साँवा व्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको र यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरुले पनि भोग्नुपरेको हुँदा आफूहरुका माग सम्बोधन नभए होटलहरु बैंकको साँवा र व्याज बुझाउन बन्द हुने अवस्था आउन सक्ने चेतावनी पनि हानले दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved