बूढानिलकण्ठमा पाँच तारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ सञ्चालनमा, १५ करोडको आईपीओ आउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 21, 2024 | 05:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बूढानिलकण्ठमा पाँच तारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ सञ्चालनमा आएको छ । माघ १ गते ‘सफ्ट लञ्च’ भएको यो होटलको व्यवस्थापन भारतीय पायोनियर ब्राण्ड ‘लेमन ट्री प्रिमियर’ले सम्हालेको छ । ‘बूढानीलकण्ठ हेरिटेज’को व्यवस्थापन सम्हाल्दै ‘लेमन ट्री प्रिमियर’ले पनि नेपालमा पहिलो पटक आफ्नो उपस्थिति जनाएको छ । बूढानीलकण्ठ हेरिटेजले होटल व्यवस्थापनका लागि लेमन ट्री प्रिमीयरसँग १५ वर्षको सम्झौता गरेको छ । 

बूढानीलकण्ठ हेरिटेज साढे ३ वर्षमा निर्माण सम्पन्न भएको हो । निर्माण घोषणा भएको साढे ४ वर्ष भए पनि काम सुरु भएको साढे ३ वर्षमै होटलको निर्माण सम्पन्न भएको हो । अहिले पनि केही केही मसिना काम बाँकी छन् । यी सबै काम सकेर अबको १ महिनाभित्र ‘ग्राण्ड ओपनिङ’ गर्ने तयारी रहेको होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की बताउँछन् । उनका अनुसार हालसम्म होटलको कुल लगानी २५० करोड पुगेको छ ।

काठमाडौँ उपत्यकाको ‘कोर सिटी एरिया’बाट अलिकति मात्रै टाढा यो होटल अवस्थित छ । जसमा प्राकृतिक सौन्दर्यसँग रमाउँदै स्वच्छ हावा र मनोरम दृश्यावलोकनको आनन्द लिन सकिन्छ । शिवपूरी जंगलको फेदीमै बनेको बूढानीलकण्ठ हेरिटेजले आगन्तुकलाई प्रकृतिसँग साक्षात्कार गराउँदै पाँच तारे होटलको सेवा प्रदान गर्नेछ ।

‘यहाँबाट काठमाडौँ छर्लङ्ग देखिन्छ, आडमै जोडिएको मनोरम शिवपूरी जंगल छ, नारायणगोपाल चोकबाट जम्मा ५ किलोमिटरको दूरीमा प्रकृतिको काखमै सुविधासम्पन्न होटल निर्माण भएको छ’ होटलका प्रबन्ध सञ्चालक कार्कीले भने, ‘यहाँ आए पछि हाइकिङ जान पनि सजिलो छ, प्रकृतिको आनन्द पाउन सकिन्छ ।’

१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलका सबै कोठाबाट काठमाडौँ छर्लङ्ग देख्न सकिन्छ । उचाईमा भएकाले स्वच्छ हावा त लिन पाइन्छ नै, साथमा वरपरको पर्यावरण पनि निकै सुन्दर र सफा छ । ‘सिटी एरियाको जस्तो कोलाहल छैन, यो प्राकृतिक सौन्दर्य र स्वच्छ हावापानी भएको ठाउँ छ’ कार्कीले भने ।

उनका अनुसार होटलमा १०२ वटा कोठामा १९० बेड संख्या छन् । यीमध्ये ५७ वटा ट्वीन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर स्वीट रुम, ४ वटा बिजनेस स्वीट रुम र २ वटा प्रेसिडेन्टल स्वीट रुम छन् । १ सय वटाभन्दा बढी कार अट्ने पार्किङ एरिया छ ।

३ वटा मिटिङ रुम, २ वटा बैंक्वेट हल, रुफ टप रेष्टुरेन्ट, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेष्टुरेन्ट, हेल्थ क्लब, स्पा लगायतका सुविधा होटलमा छन् । होटलमा स्वीमिङ पुल, रुफ टप गार्डेन र ध्यान केन्द्र पनि बनाइएका छन् । क्यासिनोका लागि १८ हजार वर्ग फिट क्षेत्रफल छुट्याइएको छ । अहिले क्यासिनो सञ्चालन गरिरहेका विभिन्न कम्पनीसँग छलफल भइरहेको प्रबन्ध सञ्चालक कार्कीले जानकारी दिएका छन् । 

बूढानिलकण्ड हेरिटेज लिमिटेडको सञ्चालक समितिमा बाबुकाजी कार्कीसहित डा. राजेन्द्र केसी, अम्बिका प्रसाद पौडेल, हरिप्रसाद पाठक,  सि.ए. नवराज बुर्लाकोटी, सि.ए. दीपक पाण्डे, जनक भट्ट, दीपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे गरि ९ जना छन् ।

१५ करोडको आईपीओ

यो होटल निर्माण गरेको कम्पनी पब्लिक कम्पनी हो । होटलले चालु आर्थिक वर्षभित्रै १५ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी गर्ने तयारी अघि बढाइसकेको छ । सञ्चालक समितिको बैठकबाट आईपीओ जारी गर्ने प्रस्ताव पनि पारित भइसकेको कार्कीले बताए । उनका अनुसार आईपीओ निष्काशनका लागि इलाइट क्यापिटललाई कम्पनीको बिक्री प्रबन्धकमा चयन गरिएको छ ।

‘साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ, हामीले इलाइट क्यापिटललाई यसका लागि बिक्रि प्रबन्धकमा नियुक्त पनि गरिसकेका छौँ’ प्रबन्ध सञ्चालक कार्कीले भने, ‘६ महिनाभित्रै प्रक्रिया सकेर आईपीओ निष्काशन गर्ने लक्ष्य छ ।’

हेर्नुस् होटेल परिसर: 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved