अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर अर्थात ५६ अर्ब रुपैयाँ जरिवाना गरिएको छ। कमनवेल्थलाई लगाइएको यो जरिवाना अष्ट्रेलियाको कर्पोरेट इतिहासकै सबै भन्दा ठुलो भएको दाबि गरिएको छ।
अष्ट्रेलियाको समाचार संस्था एबिसी डट नेट का अनुसार कमनवेल्थले 'सम्पत्ती शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी' सम्बन्धि कानुन तोडेको आरोपमा यति ठुलो रकम जरिवाना तिर्नुपरेको हो।
बैंकले १० हजार डलर माथिका हजारौं कारोबारहरु नियामक असट्रयाकलाई समयमै जानकारी नगराएको र कयौं संस्कास्पद कारोबारहरुको रेकर्ड नराखेकोले कारबाही गरिएको हो। बैंक मार्फत गरिएका १० हजार बढीका करिब ५० हजार बढी लेनदेन कारोबारलाई बैंकले नियमन निकायमा समयमा जानकारी नगराएका कारण बैंक समस्यामा परेको थियो।
१० हजार डलर वा सो भन्दा माथिको कारोबारलाई १० दिनभित्रमा जानकारी गराउनुपर्ने प्रावधानलाई समेत मिचेकाले असट्रयाकले बैंकलाई गत अगष्टमा कारबाही प्रक्रिया थालेको थियो।
बैंकले ‘इन्टेलिजेन्ट डिपोजिट मेसिन’ मार्फत गरिएका कारोबारलाई समयमै जानकारी नगराएपछि कानुनी समस्या झेल्नु परेको थियो । सोही कारण यो समस्याबाट समाधान खोज्नका लागि बैंकले अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना तिर्नुपरेको हो।
कारबाहीमा परेपछि बैंकले सुरुमा सानो कोडीङको गल्तिले गर्दा समयमै कारोबारको जानकारी गराउन नसकेको तर्क गरेको थियो। कोडीङको गल्तिले गर्दा ५६ हजार भन्दा बढी लेनदेनको जानकारी समयमै दिन नसकिएको बैंकको तर्क थियो तर पछि बैंकले जरिवाना तिर्न तयार भएको हो।
सरकारी निकाय र बैंकबीचमा जरिवाना सम्बन्धमा सहमति भएपनि त्यहाँको उच्च अदालतले भने स्वीकृति दिन बाँकी नै रहेको समाचारमा उल्लेख छ। बैंकका प्रमुख कार्यकारी अधिकृत म्याट कोम्यानले बैंकको जानीजानी गल्ती नभएको भन्दै क्षमायाचना गरेका छन् ।
उनले बैंकले जोखिम ब्यवस्थापन तथा अनुपालनमा ध्यान दिने समेत बताएका छन्। बैंकले आगामी दिनमा ग्राहकहरुको बिश्वास जित्न मेहनत गर्ने उनले बताएका छन। बैंकले ७ सय मिलियन अष्ट्रेलियन डलरमात्र नभएर कानुनी शुल्कवाफतको अढाई मिलियन डलर (करिब २० करोड रुपैया) समेत तिर्नुपर्नेछ।
असट्रयाकका प्रमुख कार्यकारी अधिकृत निकोल रोजले यस्तो कारबाहीले बित्तिय क्षेत्रलाई खराब आचारण गर्नबाट रोकेर व्यवसायलाई अझ बलियो बनाउने प्रतिकृया दिएकी छिन। 'जरिवाना तिराउनका लागि लामो समयको पर्खाई हुनुले नै कारबाही प्रकृयामा हदैसम्मको वार्तालाप भएको पुष्टि हुन्छ' उनले भनेकी छिन।
कमनवेल्थ बैंकमाथि भएको यस कारबाहीले केन्द्रीय सरकारका निकायहरु आफ्नो काम गरिरहेको प्रमाण भएको अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलको भनाई छ।