नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दिल्लीमा माघ २८ देखि सुरु भएको दक्षिण एसियाली रोजगारदाता मंचको बैठकमा बोल्दै नेपालमा लगानीको वातावरण बनेको जानकारी गराएका छन।
आइएमई समुहका अध्यक्ष समेत रहेका ढकालले दिल्लीमा जारि {8th Session of the South Asian Forum of Emplyers-SAFE} बैठकमा नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिक बीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण राम्रो भएको बताए।
नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थिर सरकार बनेको र संघीय, स्थानीय र प्रादेशिक तीनै तहको निर्वाचन सम्पन्न भई सरकार समेत गठन भई क्रियाशिल रहेकाले नेपालका लगानीका मुख्य क्षेत्रहरु कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गरे।
नेपाल सरकारले आगामी महिना लगानी सम्मेलन गर्न लागेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै सभापति ढकालले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण समेत गरे।
श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरुलाई ढकालले आग्रह गरे।
रोजगारदाताहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्धाहरुमा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाहरुको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभलिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग गरे।
दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक फागुन १ गतेसम्म चल्नेछ। यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ । सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्स लगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताहरुले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।