कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकाले देशको अहिलेसम्मकै ठूलो आर्थिक प्याकेजको घोषणा गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका हुन् ।
महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ। प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ।
यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्याउने बताइएकोछ। भाइरस सङ्क्रमण नफैलियोस् भनेर अधिकारीहरूले अमेरिकाभर रेस्टुरेन्ट, बार सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्। अर्थशास्त्रीहरूका अनुसार अमेरिकाको काम गर्ने समूहको हरेक पाँचजनामा एकजना व्यक्ति कुनै न कुनै किसिमको लकडाउनमा परेको छ।
नयाँ पारित गरिएको कानुनले व्यवसायबाट बाहिरिनुपर्ने खतरामा परेका कम्पनीहरूलाई ऋण सहायता र करमा सुबिधाको पनि व्यवस्था गरेको छ। किनभने हरेक चारजनामा एकजना अमेरिकीलाई घर बस्न आदेश दिइएको छ र अति आवश्यक खाँचो पर्दा मात्र बाहिर जान मिल्ने भनिएको छ।
अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।