अमेरिकी डलरको दबदबा अन्त्य गर्न रुससहित ३ ब्रिक्स राष्ट्र एकजुट, अब भारतले के गर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 10:19:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय विश्वका शक्तिराष्ट्रहरुबीच को, कुन समूहमा रहने भन्ने विषयलाई लिएर ठुलो राजनीति भइरहेको पाइन्छ। त्यसमाथि पनि अमेरिकाको नेतृत्वमा रहेको अमेरिका, युरोपलगायतका देशहरुको समूह नाटोमा आवद्ध हुन खोजेको भन्दै युक्रेन विरुद्ध रुसले युद्ध छेडेपछि कुन राष्ट्र कुन ध्रुवमा रहने भन्ने विषयले विश्व राजनीतिलाई तताएको छ।

रुस र चीन मिलेर अमेरिकालाई मुद्दामा चुनौती दिइरहेका छन्। युक्रेनमाथि रुसको आक्रमण पश्चात चीन र रुसको सम्बन्धमा थप निकटता बढेको छ। चीन र रुस अमेरिकाको दबदबा विश्व व्यवस्थालाई खारेज गरेर बहुध्रुबीय संसार हुनुपर्ने बताइरहेका छन्। 

चीनले अब पुरा विश्वभरमा अमेरिकी डलरको दबदबालाई पूर्णरुपमा सिध्याउनुपर्छ भन्नेबारे ‘लभिङ’ गरिरहेको विषयलाई हेर्दा पनि ध्रुविकरण कुन तहमा पुगिसकेको छ भन्ने कुरा स्पष्ट हुन्छ। 

बहुध्रुवीय विश्वमा अब बहुध्रुवीय मुद्रा पनि आवश्यक रहेको भन्दै रुस र चीनले आफ्ना समकक्षी, एलाएन्स र शुभचिन्तक राष्ट्रहरुसँग यस विषयमा छलफल अगाडि बढाइरहेका छन्।

अमेरिकाको दबदबा सिध्याउन अमेरिकी डलरको बदलामा अर्को मुद्रा ल्याउनका लागि रुस र चीनले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेका छन्। अमेरिकाले डलरको आडमा नै विश्वभर राजनीतिक गरिरहेको उनीहरुको बुझाइ छ। 

गत साता रुस भ्रमणमा रहेका चीनक राष्ट्रपति सी जीनफिङ रुस जाँदा रुसी राष्ट्रपति भाल्दमिर  पुटिनले अफ्रिकाको साथ ल्याटिन अमेरिकाका देशहरुमा पनि व्यापारको भुक्तानी चिनिया मुद्रामा गर्न तयार रहेको बताएका छन्। 

चीन र रुस कुनै पनि हालतमा डलरको एकछत्र राजलाई सिध्याउन चाहन्छन्। त्यही भएर पनि चीनसँगको व्यापारमा रुसले पहिल्यैदेखि युआनको प्रयोग गरिरहेको छ। युक्रेनमाथि रुसको युद्ध पश्चात रुस र चीनको द्विपक्षीय व्यापार झनै बढेको छ। यही कारण पनि रुसको केन्द्रीय बैंकमा चिनिया युआन थुप्रिदै गएको छ। 

अमेरिकी न्युज च्यानल सीएनएनका चर्चित होष्ट फरिद जकारियाले २७ मार्चमा आफ्नो कार्यक्रममा भनेका छन्, ‘चीन दुनियाको दोस्रो ठुलो अर्थव्यवस्था भएको देश हो र रुस दुनियाको सबैभन्दा ठुलो उर्जा निर्यातक देश हो। चीन र रुस अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थामा डलरको दबदबालाई कमजोर बनाउने ठोस निर्णय लिएका छन्।’ डलर अमेरिकाको अन्तिम जीवित शक्ति हो। 

डलरको आडमा अमेरिकाले विश्वको कुनै पनि देशलाई केही मिनेटमा सिध्याउने धम्की दिइरहेको छ र अर्को मुलुकमाथि पूर्ण रुपमा अमेरिकाको व्यापार प्रतिबन्ध लगाउने निर्णय गर्ने क्षमता राख्दछ। 

सन् १९७३ मा अमेरिका र साउदी अरबबीच भएको ‘पेट्रोडलर’ सम्झौता पश्चात नै अमेरिकाले डलरको आडमा विश्वभर आफ्नो आधिपत्य जमाउँदै आएको छ। जो व्यक्ति या देश यो सम्झौता विपरित जान्छ ति व्यक्ति वा देश आज सिद्धिएका छन्। इराकका सद्दाम हुसेन, लिवियाका कर्णेल मुअम्मर गद्दाफी, इरान र भेनेजुएला यसका उदाहरण मात्रै हुन्। यी देश र यी नेताहरुले आफ्नो देशको सार्वभौमसँग सम्झौता नगरी आफ्नो देशको तेल आफ्नै देशको मुद्रामा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने निर्णय गरे। 

त्यही पेट्रोडलर सम्झौताको आडमा डलरमार्फत विश्वभर आफ्नो साम्राज्य चलाइरहेको अमेरिका विरुद्ध चीन रुसले आफ्नो एउटा क्याम्प नै खडा गरिसकेका छन् । जसमा ब्राजिल पनि मिसिएको छ। ब्राजिलले गत सातामात्रै चीनसँग दुवै देशबीच युआन मुद्रामा व्यापार गर्ने सम्झौता गरेका छन्। 

चीनको उप–बाणिज्य मन्त्री गुओ तिङ्गतिङ्गले भनेका छन्, ‘ब्राजिलसँग हुने व्यापारमा भुक्तानीको मुद्रा युआन हुने सम्झौता भएको छ, यो हाम्रो द्विपक्षीय व्यापारको लागि महत्वपूर्ण सम्झौता हो, हामी खनिज तथा खाद्य पदार्थमा सहयोग बढाउने योजनामा काम गरिरहेका छौँ, दुवै देश अब व्यापार आ–आफ्नो मुद्रामा गर्नेछन्।’

पछिल्लो एक दशकभन्दा लामो समयदेखि चीन ब्राजिलको सबैभन्दा ठुलो कारोबारी साझेदार मुलुक बनेको छ । पछिल्लो वर्ष मात्र दुवै देशबीच द्विपक्षीय व्यापार १५० अर्ब डलरको थियो। रसिया टुडेका अनुसार ब्राजिलका वित्त मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला हेर्ने तातीअना रोसिटोले २५ देश युआनमा पहिल्यैदेखि कारोबार गरिरहेको बताएकी छन्। 

ब्लुमबर्गको एक रिपोर्टअनुसार मङ्गलबार सिङ्गापुरमा एक सम्मेलनमा पूर्व अधिकारीले डलरको बढ्दो प्रभुत्व तथा स्थानीय मुद्राको कमजोर हुँदै गरेको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

आइएसईएएस योसोफ इसहाक इन्ष्टिच्युटले आयोजना गरेको सम्मेलनमा सिङ्गापुरका पूर्वविदेशमन्त्री जर्ज येओले भने, ‘अमेरिकी डलर हामी सबैमाथि बोझ बनिरहेको छ, यदी तपाइँ अन्तर्राष्ट्रिय वित्त व्यवस्थालाई हतियारको रुपमा प्रयोग गर्नुहुन्छ भने त्यसको विकल्प अब सामुन्ने आउनेछ। यस्तो अवस्थामा अमेरिकी डलरलाई ठुलो नोक्सानी हुनेछ।’ 

यही सम्मेलनमा इन्डोनेसियाका पूर्व–बाणिज्यमन्त्री थोमस लेमबोङ्गले पूर्व–विदेशमन्त्री जर्ज येओको प्रशंसा गर्दै दक्षिण पूर्वी एसियाका केन्द्रिय बैंकहरुले पहिल्यै स्थानीय मुद्रामा सिधै डिजिटल भुक्तानीको व्यवस्था गरेको बताए।  

चुनौती 

पुटिनले यस्तो समयमा युआनमा व्यापार गर्ने घोषणा गरेका छन् जब अमेरिकाको बैंकिङ क्षेत्रमा तिब्र उतारचढाब आएको छ भने महँगीले आकाश छुने अवस्था छ । एक वर्ष पहिले जब रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यस बेला रुसको बैंकिङ प्रणालीलाई बाहिर गर्नका लागि अमेरिकाले रुसलाई स्विफ्ट प्रणालीबाट हटाइदिएको थियो।  

तर अहिले अमेरिकाका दुई बैंक बन्द भएका छन्। सिलिकन भ्याली बैंक बन्द भएको घटना अझै ताजा छ। पुटिनले यस्तो समयमा डलरको विकल्पमा युआनमा व्यापार गर्ने निर्णय गरेका छन्।

चिनिया राष्ट्रपति सी जीनफिङ रुस जानु अगाडि नै साउदी अरबले तेल आयातको केही हिस्साको भुक्तानी चीनसँग उसको स्थानीय मुद्रामा गर्ने घोषणा गरेको थियो। यसको साथसाथै फ्रान्सले पनि पहिलो पटक एलएनजी अर्थात लिक्वीफाईड प्राकृतिक ग्याँस चीनसँग युआनमा बिक्री गरेको थियो। 

यी सबै घटनालाई एउटा प्रतिकको रुपमा मात्र हेरिएको छ। यी घटनालाई डलरको प्रभुत्व खत्तम गर्ने रुपमा हेरिएको छैन । तर विश्वभरका केन्द्रिय बैंकको रिजर्भ मुद्रामा डलरको हिस्सा घट्दै गएको छ । १९९९ सम्म विश्व रिजर्भमा डलरको हिस्सा ७२ प्रतिशत थियो । जुन अहिले घटेर ५९ प्रतिशतमा आइपुगेको छ। 

२०२० मा रुस र चीनबीच ४६ प्रतिशत व्यापार मात्रै डलरमा भएको थियो। यस बीच दुवै देशको व्यापारमा युरो मुद्राको हिस्सा बढेर ३० प्रतिशत पुगेको थियो भने आफ्नो देशको मुद्राको कारोबार प्रतिशत २४ प्रतिशत पुगेको थियो।

सन् २०१५ सम्म रुस र चीनबीचको व्यापार ९० प्रतिशत डलरमा हुन्थ्यो। तर अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्ध ‘ट्रेडवार’ र डलरको उपयोग कम गर्ने चीन र रुसको रणनीतिको कारण सन् २०१९ मा दुवै देशबीच मात्रै ५१ प्रतिशत व्यापार अमेरिकी मुद्रामा भएको छ। 

रसियन एकेडेमी अफ साइन्सेजमा इन्ष्टिच्युट अफ फर इस्टर्न स्टडिजका निर्देशक एलेक्सी मसलोवले निकेई एसियन रिब्युलाई भनेका छन्,‘व्यापार डलरको उपयोग कम गर्ने रुस र चीनको योजना यस्तो स्थितिमा पुग्नेवाला छ कि अब यी दुई देश आफ्नो सम्बन्धलाई व्यापारिकभन्दा बढी एक गठबन्धन बनाउनुपर्नेमा पुगेका छन्।’

भारतको चाहना  

भारत पनि डलर अर्थ–व्यवस्थामाथिको निर्भरता कम गरेर स्थानीय मुद्रामा व्यापार बढाउन चाहन्छ । नयाँ दिल्लीमा बुधबार ‘रसा इन्डिया बिजनेश फोरमः स्टाटेजिक पार्टनरशिप फर डेभलपमेन्ट एण्ड ग्रोथ’ इभेन्ट सुरु भएको छ। 

यस आयोजनाको उद्देश्य भारत र रुसबीच व्यापार वार्षिक ५० अर्ब डलरसम्म पुर्याउने रहेको छ। पछिल्लो वर्ष दुवै देशबीच ३१ अर्ब डलरको व्यापार भएको थियो। यस आयोजनामा दुवै देशले अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रभुत्वलाई कम गर्ने धारणा व्यक्त गरेका छन्।

पछिल्लो वर्ष डिसेम्बरमा भारतले युएईसँगको व्यापार स्थानीय मुद्रा दिराम र भारुमा चाहेको खबर बाहिर आएको थियो । युएई भारतको तेस्रो ठुलो व्यापार साझेदार हो। अमेरिका र चीन पश्चात भारतको लागि युएई २०२१–२०२२ मा तेस्रो ठुलो व्यापार साझेदार हो। अमेरिकापश्चात भारतले सबैभन्दा बढी युएईमा निर्यात गर्दछ। 

सन् २०२१–२०२२ मा भारतबाट युएईमा निर्यात २८ अर्ब डलरको थियो। त्यही २०२१ मा युएईको लागि भारत दोस्रो ठुलो व्यापार साझेदार थियो। गैर–तेल कारोबार ४५ अर्ब डलरको थियो। दुवै देशबीच १८ फेब्रुअरी २०२२ मा ‘कम्प्रिहेन्सिब इकोनोमिक पार्टनरशिप’ सम्झौता भएको थियो। यस सम्झौताको लक्ष्य भारत र युएईबीचको द्विपक्षीय व्यापार १०० अर्ब डलर पुर्याउने रहेको छ। (एजेन्सीहरुको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved