ओझेलमा स्वर्गद्धारी प्रभुमहाराजको जन्मस्थल

महेश न्यौपाने

महेश न्यौपाने

Mar 08, 2020 | 09:22:55 PM मा प्रकाशित

laxmi  sunrise bank

महेश न्यौपाने,रोल्पा

महाप्रभुको ध्यानास्थल स्वर्गद्वारीको महिमा चुलिदा जन्मस्थल रुन्टी भने वेखवर छ ।   बाल तपश्वीको नामले प्रख्यात स्वर्गद्धारी महाप्रभुको कर्म स्थल स्वर्गद्धारी राष्ट्रिय अन्तराष्ट्रिय चर्चाकमा रहदा समेत   जन्मस्थल रुन्टी भने गुमनाम छ । 

 गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जस्तै महाप्रभुको जन्मस्थल रुन्टीलाई पनि पवित्र धार्मिक स्थल वनाउन  सकिने प्रशस्तै संभावना भएपनि संवन्धित निकायको ध्यान नपुग्दा यति महत्वपूर्ण स्थान गुमनाम जस्तै हुन पुगेको छ । रुन्टीलाई मिनी लुम्बिनी वनाउन सकिने प्रशस्तै संभावना भएको सांस्कृतिक तथा धार्मिक क्षेत्रका अभियान्ताहरुको भनाई छ । रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तरगत साविक सखी गाविस वडा नम्बर ९ मा रहेको प्रभुको जन्मस्थल रुन्टीको न्यूनतम पूर्वाधारको समेत विकास हुन नसक्दा छाँयामा पर्दै गएको स्थानीयहरुको गुनासो छ ।  

भौतिक पूर्वाधार तथा सांस्कृतिक प्रवद्र्धनमा लगानी हुन नसक्दा रुन्टीले आफ्नो गरिमा र महत्वलाई  वाहिर ल्याउन नसकेको जानकारहरुको वुझाई छ ।  महाप्रभुको जन्म स्थल मात्र नभएर अखण्ड यज्ञ लगाएको, सन्यासग्रहण गरेको र लामो समय तपस्या समेत गरेको हुनाले पनि रुन्टीकोे महिमा उचाईमा  सो मन्दिरका पुजारीहरुको वुझाई छ । 

दाङ सदरमुकाम घोराहीवाट करिव ३२ किलोमिटर उत्तरतिर पर्ने रुन्टीको प्रचार प्रसार र महिमा वढाउन भन्दै पछिल्लो पटक गरिएको स्थानीय तहको पुनरसंरचनामा गाउँपालिकाको नाम रुन्टीगढी राखिएको छ । रुन्टी महाप्रभुको जन्मस्थल र गढी वाईसे चौविसे राजाहरुले शासन गर्दा गढको रुपमा प्रयोग गरेको लेकलाई जोडेर रुन्टीगढी गाउँपालिका राखिएको सो गाउँपालिका अध्यक्ष वालाराम वुढाको तर्क छ । पवित्र धार्मिक स्थल रुन्टी र सामरिक महत्वको स्थान गढीको समुच्च प्रचार प्रसारका लागी स्थानीय तह नामाकरणको वेला यो नाम राखेका हौ अध्यक्ष वुढाले भने । 

रोल्पा सदरमुकाम लिवाङवाट दक्षिणमा पर्ने रुन्टी होलेरीबजारबाट करिब नौ किलोमिटर पूर्वमा पर्दछ । रुन्टीको धार्मिक महत्वसंगै यस क्षेत्रको प्राकृतिक मनोरमले प्रकृती प्रेमीहरुलाई लोभ्याउने क्षमता राख्दछ । प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा रहेको स्वर्गद्वारी महाप्रभुले कर्मगरेको स्थान देखी रुन्टी सम्मको सडक दुरी करिब पन्ध्र किलोमिटर मात्र रहेको छ । स्वर्गद्धारी धार्मिक क्षेत्र, रुन्टी धार्मिक क्षेत्र ,ऐतिहासिक किल्ला गढी लेक, त्यस आसपासको मनोरम वन जंगल, वन्यजन्तु, हिमदृष्यको अवलोकन, स्वर्गानुभुति दिने होलेरी वजारको हावापानी आदीका कारण यस क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकिय क्षेत्र हुने संभावना रहेको छ ।  बसन्त ऋुतमा फुल्ने लालीगुराँसको ताँतीले रुन्टी जस्तो पूण्यभूमिको गौरवलाई सुन्दर र समृद्ध बनाउने गर्दछ । यति मात्र होइन हिन्दु धर्ममा विश्वास गर्नेहरुका लागि रुन्टी एक उचित तिर्थस्थल हो यद्यपी रुन्टीको समग्र विकासको लागि सरकारी लगानी भने खासै हुन सकेको छैन । 

नारायण खत्री अर्थात महाप्रभुको जन्म विसं १९१६ साल श्रावण शुक्ल एकादशीको रातमा भएको थियो ।  पिता अनिरुद्र गौतम खत्री र माता स्वेतकुमारी गौतम खत्रीको पहिलो सन्तानको रुपमा जन्म लिएका उनै नारायण खत्री पछि महाप्रभुको रुपमा प्रकट भए ।  दैवि शक्तिको अदभूत क्षमता भएका प्रभुको त्याग र तपस्याले सिंगो मानव समुदायको हित र कल्याणमा लाग्न प्रेरित गर्दछ । 

उनै तपस्वीले स्वर्गद्वारीमा महायज्ञ आयोजना गरेका थिए । बालक नारायणले आफ्नो कर्मले प्रभु, महाप्रभु, बालतपस्पीकासाथै सन्यासग्रहणपछि स्वामी हंसानन्द गिरीको जीवन बिताएको पाइन्छ ।  यसै गाँउमा अखण्ड वैदिक यज्ञको थालनी समेत गरिएको पाइन्छ । प्रभु जन्मिएको सो स्थानमा अहिले सानो मन्दिर रहेको छ । मन्दिर भित्र प्रभुको पवित्र खराउ र मूर्ति राखिएको छ । अनुयानीहरु प्रभुको खराउ र मूर्तिमा पुजा गर्न पुग्दछन ।  यसका साथै प्रभु जन्मेको घरमा प्रयोग भएका झ्याल प्रयोग गरेर सानो धर्मशाला  निर्माण गरिएको छ । धर्मशाला र मन्दिर रहेको ठाउँदेखी करिव ५ सय मिटर माथि प्रभुले निर्माण गरेको यज्ञशालाको अवशेष पनि भेटिन्छ । यस क्षेत्रमा प्रभुले ३५ वर्ष विताएको वताईन्छ । 

नेपालका महत्वपूर्ण धार्मिक गन्तव्य अन्तरगत स्वर्गद्वारीको महत्व र उचाई अतुलनिय भए पनि रुन्टी भने गुमनाम छ । रुन्टीलाई स्वर्गद्धारीको पुरक धार्मिक गन्तव्यको रुपमा विकास गर्न सके यसको महिमा अझै वढ्न जाने र पश्चिम नेपालको एक पर्यटकीय गन्तव्य वन्न सक्नेमा दुईमत छैन ।  त्यत्ति धार्मिक महत्व रहेको रुन्टी भएपनि ओझेलमा परेको सम्बद्धहरुको प्रतिक्रृया छ ।  स्वर्गद्वारीको दर्शन गर्ने कुनै पनि भक्तजनले महाप्रभुको जन्मस्थल रुन्टीको दर्शन नगरे मनोकांक्षा पुरा नहुने धार्मिक विश्वास छ । प्यूठान भिंग्रीको  बाटोहुदै स्वर्गद्वारी दर्शन गर्ने अनि रुन्टीको दर्शन गरि दाङ झर्न सकिन्छ । यतिमात्र होइन दाङबाट गाडीको यात्राबाट रुन्टी पुग्न सकिन्छ । रुन्टी अवलोकन गरि स्वर्गद्धारी पुग्न पनि सकिन्छ । पछिल्ला दिनमा रुन्टीलाई सडक संजालले जोडेको भए पनि यसको निरन्तरतामा राज्यले थप ध्यान दिनुका साथै पूर्वाधार विकासमा ठूलै लगानी गर्नुपर्ने धार्मिक पर्यटनका जानकारहरुको भनाई छ ।  

महाप्रभुको जन्म स्थलको थप प्रचार प्रसार गर्न स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने संस्कृतीविद डा. गोविन्द आचार्यको भनाई छ । स्वर्गद्धारीको महिला चुलिदा रुन्टी छाँयामा पर्नु सुखद होइन डा आचार्यले भने । स्वर्गद्धारीको पुरकको रुपमा रुन्टीको विकास हुन जरुरी छ आचार्यले भने । 

स्थानीय सरकार गठन संगै उक्त क्षेत्रको प्रचार प्रसारका काम सुरु भएको रुन्टीगढी गाउँपालिकाको दावि छ । रुन्टी लगायत गाउँपालिका भित्रका सवै पर्यटीय क्षेत्रको प्रचार प्रसारका लागी  राष्ट्रिय स्तरका कार्यक्रम गरिसकेका छौ गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दिपक डिसीले भने । वितेका २ वर्ष भित्र गाउँपालिकाले राष्ट्रिय स्तरका  तीन वटा कार्यक्रम गरिसकेको डिसीले वताए । अघिल्लो वर्ष विकास सम्मेलन, साहित्य सम्मेलन  गरेको गाउँपालिकाले  यस वर्ष राष्ट्रिय मिडिया  सम्मेलन गरेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved