नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर पनि गुमायो, ओमानबाट खाली हात फर्किँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2024 | 10:00:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हङकङसंग चार विकेटले पराजित भएसंगै नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर पनि गुमाएको छ। ओमानको अल अमेरतको मैदान बी मा टस जितेर ब्याटिङ रोजेको नेपाल हङकङसंग चार विकेटले पराजित भएको हो। 

नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाएको थियो जसलाई हङकङले ३ रन र चारजना खेलाडी बाँकी छंदै पूरा गर्‍यो। नेपालले लिग चरणमा भने हङकङलाई ८ विकेटले सहजै पराजित गरेको थियो।

यससंगै इमर्जिङ टीम्स एशिया कप खेल्ने अवसर पनि नेपालले गुमाएको छ। लिग चरणमा सबै चार खेल जित्दासम्म नेपाल एसीसी प्रिमिअर कप को प्रमुख दाबेदारका रूपमा हेरिएको थियो। त्यसमाथि पनि दीपेन्द्र सिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपाली टोलीको चर्चा थप चुलिएको थियो।

तर शुक्रवार सेमिफाइनलमा यूएईसँग र शनिवार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पराजित भएपछि नेपाली टोलीमा प्रश्न चिन्ह उठेको हो। हङकङसँग पराजित भएपछि टोलीको 'एसीसी इमर्जिङ टीम्स एशिया कप' खेल्ने यात्रा पनि रोकिएको छ र प्रतियोगिताको प्रबल दाबेदार टोली नेपाल खाली हात फर्किनु परेको छ।

प्रतियोगिताको विजेताले अर्को वर्ष हुने टेस्ट राष्ट्रसँगको एसिया कपमा छनोट हुने तथा शीर्ष तीन टोलीले एसियाको टेस्ट राष्ट्रहरुको ए टोलीसँग खेल्ने तालिका छ। नेपालको सुरुआत नै खराब रह्यो। कुशल भुर्तेलले फेरी एकपटक समर्थकहरूलाई निराश बनाउने क्रममा खेलको दोस्रो बलमा शून्य रनमा आउट भए।

नेपालको सुरुआत नै खराब

शुक्रवार यूएईसँगको जस्तै ब्याटमा सामान्य 'एज' लागेर उनी विकेटकिपरबाट समातिएका थिए। नेपालको खराब ब्याटिङको क्रम त्यसपछि पनि रोकिएन। अस्वाभाविक रूपमा प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए। तर निकै अनियन्त्रित देखिएका कामीले जथाभाबी ब्याट घुमाउन थालेको देखिएपछि उनी तेस्रो ओभरमा १२ रन बनाएर आउट भए।

त्यसपछि क्रमश: पाँचौँ ओभरमा आशिफ शेख (५ रन) बाहिरिए। आठौँ ओभरमा रोहित पौडेल (२१ रन) र १२औँ ओभरमा कुशल मल्ल (१३ रन) बाहिरिए। मध्य क्रम सम्हालिएको जस्तो देखिए तापनि रन भने बनिरहेको थिएन।

१४औँ ओभरमा लगातार २ बलमा सन्दीप जोरा (२२ रन) र गुलशन झा (६ रन) आउट भएपछि नेपाल थप सङ्कटमा परेको थियो। त्यतिबेला नेपाल ८७-७ को खराब स्थितिमा पुगेको थियो।यस्तोमा दीपेन्द्र सिंह ऐरीले आक्रामक पारी गर्दै नेपाललाई चुनौतीपुर्ण स्थितिमा पुर्‍याए। अन्तिम समयसम्म क्रिजमा रहँदै उनले २९ बलमा ४४ रन बनाएपछि नेपालको स्कोर १३९ पुगेको थियो। ऐरीले २९ बल खेलेर ४ चौका र ३ छक्का प्रहार गरे।

के हो इमर्जिङ टीम्स एशिया कप ?

इमर्जिङ टिम्स कप एसियाका ८ टोली बिच हुने 'ए' श्रेणीको प्रतियोगिता हो। यसमा एशियाबाट टेस्ट खेल्ने ५ टोली भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तानको 'ए' टोली सहभागिता हुनेछन्। त्यसमा एसीसी प्रिमिअर कपको शीर्ष टोली ओमान, युएई, हङकङ थपिएका छन्। प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलङ्कामा हुनेछ। यो इमर्जिङ टीम्स एशिया कपको छैटौँ संस्करण हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved