अर्थमन्त्रीलाई शिक्षामन्त्रीको प्रस्ताव: 'यसपटक शिक्षामा अलि मन फुकाएर बजेट राखौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 04:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिने क्रममा आइतबार बिहान शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ ।

दुवै मन्त्रालयलाई आगामी आबका लागि बिनियोजित बजेटको सिलिङ र त्यस भित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक राखिएको थियो । बिहान शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्तिलाइ रोक्ने गरी कार्यक्रम बनाउनुपर्ने बताएका थिए ।

‘१ कक्षामा भर्ना भएका विद्यार्थीहरु ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने बिद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ’ उनले भने , ‘विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो ? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने बातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।’

उनले पढाई र सिकाई प्रकृयालाई समयको बदलावसँगै परिवर्तन गर्न डिजिटल प्रविधितर्फ जानुपर्ने धारणा राखेका थिए । आगामी आबको बजेटबाटै केही विद्यालयमा डिजिट प्रविधिको पढाई शुरु गर्ने गरी कार्यक्रम राख्न उनले निर्देशन दिएका थिए ।  आइटी कलेज स्थापना जरुरी भएको भन्दै उनले त्यसमा पनि बजेट राख्नुपर्ने बताए । ‘धेरै कार्यक्रममा निरन्तर बजेट हालिएको छ तर प्रतिफल आउन सकेको छैन ।  त्यसैले प्रतिफलयोग्य कार्यक्रम बनाई बजेट बनाउनतर्फ अग्रसर हुनुपर्छ’ उनले भने  ।

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताएका थिए । उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पु¥याउनुपर्ने धारणा राखेका थिए। ‘यसपटक शिक्षामा अलि मन फुकाएर बजेट राखौं । बरु के कस्ता कार्यक्रम राख्ने भन्ने सबैले सल्लाह गरौंला’ उनले भने । 

छलफलमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दुरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला बिदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘मज्जाले सरकारी पैसामा पढेर नेपालमै काम गर्ने जनशक्ती उत्पादन गर्ने हो । बिदेश जाने जनशक्ती उत्पादन गर्न खोजेको होइन भन्ने सन्देश बजेटबाट दिनुपर्छ’ उनले भने ।

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले मन्त्रालयहरुको बजेट थपघट हुनु स्वभाविक भएको बताएका थिए। ‘हरेक बर्ष बजेट बढ्नैपर्छ भन्ने दाबी छ, यसो होइन । शिक्षाको बजेट आफैंमा पनि सानो हुने गरेको छैन’ सचिव मरासिनीले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved