जीवन बीमाको तथ्यांकले भन्छ 'जनता पेटको लागि जीवनको सम्झौता गर्दै छन्'

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Oct 17, 2023 | 08:05:50 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापका सुमन शर्मा (नाम परिवर्तन)ले ५ वर्ष अगाडी एउटा जीवन बीमा कम्पनीबाट  १५ वर्षका लागि १० लाख रुपैयाँको बीमा गराएका थिए । उनले हरेक वर्ष प्रिमियम वापत करिब ६७ हजार तिर्नु पर्ने थियो । ४ वर्षसम्म उनले जसोतसो प्रिमियम भुक्तानी गरि रहेका थिए । तर अहिले आर्थिक मन्दीले उनको आम्दानीको स्रोत सुक्दै गयो, प्रिमियम तिर्न सकेका छैनन्।  

प्रिमियम नतिरेपछि उनलाई एजेन्ट मार्फत निरन्तर फोन आउँन थाल्यो । केहि समय भरे भोलि भनेर भाखा टार्दै गएपनि उनले कतैबाट पनि प्रिमियम तिर्न रकम जुटाउन सकेनन् र बाध्य भएर बीमा  सरेण्डर गरे, अर्थात् बीमा त्याग गरिदिए । घरखर्च, बालबच्चाको पढाई खर्च गर्दा पैसा नै बाँकि नहुने भएकोले बीमालाई निरन्तरता दिन नसकेको उनी बताउछन् । उनले कलंकीमा संचालन गर्दै आएको पसलले आफुलाई मात्र पुगिरहेको उनको भनाई छ । उनले श्रीमतीसँग मिलेर बिगत ७ वर्षदेखि कपडा पसल गर्दै आएको बताउँछन् । 

यस्तै नियति काभ्रेका सुमन श्रेष्ठ (नाम परिवर्तन)को पनि छ। बीमा गरेको ४ वर्षपछि प्रिमियम तिर्न नसकेर सरेण्डर गरेको उनी बताउछन् ।  एक आईटी कम्पनीमा भिडियो एडिटिङको काम गर्दै आएका उनी शेयरबजारमा पनि कारोबार गर्ने गरेका थिए । सुरुमा बजारबाट शेयर कारोबार गर्दा आएको नाफाले  बीमाको प्रिमियम तिर्न पुगेको भए पनि अहिले शेयर सबै घाटामा रहेकोले प्रिमियम तिर्न नसकी सरेण्डर गरेको उनले बताए।  

यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । बीमा सरेण्डर गर्नेको संख्या बढ्दै गएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले पनि देखाउछ । २०८० को असार मसान्तसम्ममा बीमितहरुले १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको १ लाख ४ हजार ५ सय ६ वटा बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । एक वर्षको अवधिमा २.८४ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका जीवन बीमा कम्पनीमा पोलिसी सरेन्डर भने २७.६६ प्रतिशतले बढेको देखिन्छ । यसरी हेर्दा जीवन बीमा कम्पनीको व्यवसाय वृद्धिभन्दा पोलिसी सरेन्डर गर्नेको ग्राफ निकै उच्च रहेको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्र १९ हजार १८४ जनाले बीमा सरेण्डर गरेका छन् । जसमध्ये साउनमा ९ हजार ३८६ र भदौमा ९ हजार ७९८ जनाले सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । उनीहरुले दुई अर्ब ४६ लाख ५३ हजार रुपैयाँ कम्पनीहरुबाट सरेण्डर गरेर रकम फिर्ता लगेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरि कुनै खास रकम तिरेमा निजले वा निजको  मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरि गरिने करार सम्बन्धि व्यवसाय हो  । अर्थात् भविष्यमा आउँन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न बीमा गरिन्छ  । यदि कसैको मृत्यु भइहालेमा त्यसबाट निजको परीवर्तमा पर्ने क्षति कम गर्नै कै लागि बीमा गरिन्छ  । यसलाई आफ्नै जीवनमाथिको लगानीको रुपमा लिन सकिन्छ  । 

तर अहिले देखिईरहेको बीमा सरेण्डरले आम नेपालीको डरलाग्दो अवस्था देखाउछ । आर्थिक मन्दीका कारण उनीहरु आफ्नै भविष्य माथि लात हानिरहेका छन् । अर्को शब्दमा भन्नु पर्दा आफ्नो पेट पाल्नको लागि आफ्नै जीवनको सम्झौता गर्दै छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार भने यसलाई मान्न तयार छैन । स्वयं प्रधानमन्त्री र उनका मन्त्रीहरु बाहिर चर्चा गरिएजस्तो अर्थतन्त्रमा ठूलो समस्या नै नभएको दाबी गर्दै आएका छन् ।

पछिल्लो समय सरेण्डरको संख्या बढ्नुको पछाडी आम मानिसको आम्दानी  घट्नु नै मूख्य कारण रहेको अर्थविद् अनलराज भट्टराई बताउँछन् । मानिसहरुको आम्दानी घटेपछि जीवनको रक्षाका लागि थाति राखेको रकम पनि प्रयोग गर्न थालेको उनको भनाई छ । उनले यसरी सरेण्डर बढ्मा मूल्यवृद्धिले पनि असर गरेको उल्लेख गरे । उनका अनुसार बजार चलायमान कम हुनु बीमा त्याग गर्नेको तेस्रो कारण हो । 

  बीमा क्षेत्रका जानकारहरु पनि अहिलेको अवस्थामा बीमा त्याग गर्नुको एक प्रमुख कारण मन्दी नै भएको बताउँछन् । नेपाल सहित विश्वव्यापि रुपमा नै रहेको अहिलेको मन्दीले गर्दा मानिसहरुमा पैसा नभएको र सोही कारणले पनि बीमा त्याग भइरहेको सानिमा रिलायन्स लाईफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बीमा विज्ञ शिवनाथ पाण्डे बताउँछन् ।  उनी भन्छन्  'अहिले आर्थिक मन्दीको अवस्था छ । पसल, व्यापार सबै ठप्प प्राय छ । यो अन्तराष्ट्रिय रुपमा नै देखिन्छ । जसले गर्दा मानिसहरुमा दैनिकी चलाउकै लागि पनि बीमा त्याग गर्छन् ।'

यी बाहेक अन्य कारणह रुपनि हुन् सक्ने उनको भनाई छ । एउटा कम्पनीमा भएको बीमालेख अर्काेमा सार्नका लागि पनि त्याग्ने गरेको हुनसक्ने उनी बताउछन् । यस्तै, 'मिस अण्डराईटिङ'का कारणले पनि बीमा त्याग हुने गरेको उनले बताए । जीवन बीमक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका पाण्डेले बीमा त्याग समस्यालाई कम गर्न सकिने बताउँछन् । मुख्य कारण पत्ता लगाएर समाधनका उपाएहरु अपनाएमा बीमा त्याकको संख्या घटाउन सकिने विश्वास उनले व्यक्त गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पछिल्लो पटकको बीमा पोलिसी सरेन्डर हुनुमा बजारमा देखिएको आर्थिक शिथिलतालाई प्रमुख कारण मान्छन् । 'पछिल्लो बीमा पोलिसी त्याग गर्नुमा आर्थिक क्षेत्रमा देखिएको मन्दीको असर हो जस्तो लाग्छ ।'  बिजपाटीसँग कुरा गर्दै उनले भने, 'विगतमा अभिकर्ताको कमिसनको लोभले एक संस्थामा गरिएको बीमा सरेन्डर गराएर अर्कोमा बीमा गराउने प्रवृत्ति बढी भएपनि अहिले त्यस्तो गर्नेको संख्यामा कमी आएको छ ।' प्राधिकरणले ल्याएको नयाँ नीतिका कारण त्यसो गर्ने अवस्था नरहेको उनको दाबी छ । अहिले प्राधिकरणले ल्याएको निर्देशिकामा पोलिसी खरिद गरेको ३ बर्ष नहुँदासम्म बीमा सरेण्डर गर्न नमिल्ने व्यवस्था छ । यद्यपी, त्यसमा पुरै अन्त्य भने नभएको उनले बताए । कार्यकारी निर्देशक पौडेलले बीमा पोलिसी सरेन्डर गर्न भन्दा पनि पोलिसी धितो राखेर कर्जा लिन उनले बीमितलाई सुझाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved