सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ। नेपालीमा राष्ट्रिय जीवन बीमा कम्पनी र अंग्रेजीमा Rastriya Jeewan Beema Company रहने गरि संस्थान कम्पनीमा परिणत भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयले सोमबार कम्पनी दर्ताको प्रमाणपत्र दिएको छ ।
कात्तिक १६ गतेको बसेको मन्त्रिपरिषदको बैठकले संस्थानलाई हाल कायम पूँजीमा नै कम्पनीमा जाने स्वीकृती प्रदान गरेको थियो । सोहि अनुसार अब कम्पनीको अधिकृत पूँजी ५० करोड र चुक्तापूँजी १८ करोड १० लाख कायम भएको छ ।
हाल कम्पनीमा नेपाल सरकार अर्थमन्त्रालयका २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम कम्पनीमा रुपान्तरण भएको कम्पनीले यसअघि संस्थापकबाट साढे ३ अर्ब संकलन गरी डेढ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्ने गरी योजना अघि सारेको थियो ।
कामु सिइओमा महेश रिमाल नियुक्त
संस्थानमा कम्पनीमा रुपान्तरण भएसँगै बसेको सञ्चालक समितिको पहिलो बैठकले कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धक थिए । सञ्चालक समितिको बैठकले रिमाललाई कामु सिइओको जिम्मेवारी सुम्पेसँगै तत्कालिन संस्थानका प्रशासक कवि पाठक बाहिरिएका छन् ।