'एनएफएरएस' कार्यान्वयनका विषयमा प्राधिकरणले गर्यो छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2024 | 04:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले सरकारवालाहरुसँग नेपाल वित्तीय प्रतिवेदन मान(एनएफएरएस)को बारेमा छलफल गरेको छ । प्राधिकरणले शुक्रबार चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)सँगको समन्वयनमा छफलफल तथा अन्तक्रिया कार्यक्रम गरेको हो । 

छलफल विशेषगरी एनफआरएस कार्यन्वयन सम्बन्धमा केन्द्रित रहेको प्राधिकरणले जनाएको छ । आईएफआरएस बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउनसक्ने समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना भएको जनाइएको छ । 

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनफआरएस लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गरे । यस्तै उनले समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा एनएफआरएस कार्यान्वयन गर्न सकिने बताए ।

अध्यक्ष सिलवालले भने, “नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै द्विविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।” एनएफआरएस कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको उल्ल्ेख गर्दे उनले भने, “नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिकरूपले समाधान गर्दै जानुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।”

आईक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले एनएफआरएस कार्यान्वयनका लागि बीमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बीमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता औंल्याए ।

लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले तोकिएको समयमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सँगै मिलेर अघि बढौं भन्दै कार्यान्वयनका क्रममा आइपर्ने बाधा व्यवधानको समाधानका लागि प्राविधिक सहयोग गर्न बोर्ड तयार रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी गरी बीमकको वित्तीय विवरण एनएफआरएस बमोजिम हुनुपर्ने व्यवस्था गरेको र सोही बमोजिम बीमकहरूबाट वित्तीय विवरण तयार भई प्राधिकरणमा पेश हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्र एनएफआरएस कार्यान्वयन गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेले बीमकहरूको वित्तीय विवरण, लेखा तथा लेखापरीक्षण सम्बन्धी र आईक्यानका तर्फबाट वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले इन्स्योरेन्स कन्ट्याक्ट एनएफआरएस १७ सम्बन्धी छुट्टा-छुट्टै प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डका पदाधिकारी, प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा लेखाप्रमुख र लेखापरीक्षकहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved