अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 10:54:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो ।

अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।

समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो ।

समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

  त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved