नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमै पहिलोपटक बिटक्वाइनका कारोबारी पक्राउ गरेपछि नेपालको बिटक्वाइन एक्सचेन्ज बिटसेवाले आफ्नो कारोबार बन्द गरेको छ। बिटसेवाले आफ्नै वेबसाइट तथा फेसबुक पेज मार्फत एक सूचना जारि गर्दै आफ्नो सेवा बन्द भएको जानकारी गराएको हो।
नेपालका लागि बिटक्वाइनको आधिकारिक वेबसाइट मानिएको बिटसेवाले अक्टुबर ७, २०१७ अर्थात असोज २१ गते आफ्नो कारोबार बन्द भएको सूचना सार्वजनिक गरेको हो। बिटक्वाइनको आधिकारिक वेबसाइट बिटक्वाइनडटकमका अनुसार बिटसेवा नेपालका लागि बिटक्वाइनको आधिकारिक एक्सचेन्ज हो ।
'नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइन कारोबार अबैध भएको भन्दै नेपालमा बिटक्वाइनको कारोबार बन्द गर्ने निर्णय गरेकाले हामीहरुले बिटक्वाइन एक्सचेन्ज सेवा बन्द गर्ने निर्णय गरेका हौँ' बिटसेवाद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।
बिटसेवा मार्फत सेवा लिने ग्राहकहरुलाई कुनै पनि कानुनि समस्या नपरोस भनेर आफ्नो सर्भरबाट ग्राहकहरूको तथ्यांक पनि पूर्ण रूपमा हटाइएको (डिलिट गरिएको) बिटसेवाले जनाएको छ।
बिटसेवाले फेसबुक मार्फत अक्टुबर ६, २०१७ अर्थात असोज २० गते सार्वजनिक गरेको बिज्ञप्तीमा आफुहरुले कम्पनीको स्थापनाकाल देखि नै कानुनि रुपमा नै काम गरेको दाबि गरेको छ।
बिश्वका बिकसित राष्ट्रहरु जापान, कोरिया तथा भारतमा बिटक्वाइनको बजार बढिरहेको सन्दर्भमा सहज र सुरक्षित तरिकाले नेपालमा पनि बिटक्वाइनको कारोबार गर्न केवाइसिको प्राबधानलाई अङ्गीकार गरि बिटक्वाइन खरिद बिक्रिको सेवा दिंदै आएको बिटसेवाले जनाएको छ। 'हामीले नेपालमा क्रान्तिकारी प्रविधि ल्याउन निकै मेहनत गर्यौं तर नेपाल सरकारको फरक योजना बनाएको र नेपालीको हातमा यो प्रविधि नचाहेकोले कारोबार बन्द गरेका हौँ' बिटसेवाले जनाएको छ।
बिटक्वाइनको कारोबार बन्द भएपश्चात आफ्नो लगानी के हुन्छ भनेर बिटसेवासंग हजारौं लगानीकर्ताले चांसो व्यक्त गरेका छन। जवाफमा बिटसेवाले सबै प्रयोगकर्ताको बिटक्वाइन लिएर पैसा फिर्ता गरिदिने बताएको छ। यदि कसैले बिटसेवाको वालेटमा बिटक्वाइन जम्मा गरेको छ भने त्यति बराबरको रकम प्रयोगकर्ताले उपलब्ध गराएको बैंक खातामा ट्रान्सफर गरिदिने बिटसेवाले जनाएको छ। 'बिटसेवामा पहिलेदेखि नै कायम प्रयोगकर्ताको ब्यालेन्स उनीहरुको खातामा यसै साता फिर्ता हुनेछ। हामीलाई तपाइँहरुको धैर्यताको खाँचो छ' बिटसेवाद्वारा जारि बिज्ञप्तिमा भनिएको
यद्दपी बिटसेवाको एन्ड्रोइड एपले काम गर्ने र त्यसमा ग्राहकहरूले बिटक्वाइन आफुले चाहेको समयसम्म होल्ड गर्न सक्ने पनि बिटसेवाले जानकारी दिएको छ । साथै बिटक्वाइन कारोबार गर्न अन्य ब्लकचेन, माइसेलियम, ज्याक्स लगायतका सुरक्षित र आधिकारिक प्लेटफर्म प्रयोग गर्न समेत बिटसेवाले सुझाब दिएको छ।
बिटसेवा भाग्ने संकेत
आफुलाई बिटक्वाइनका लागि आधिकारिता प्राप्त भएको दाबी गर्ने बिटसेवाले नेपालमा कम्पनी स्थापना नगरी कारोबार गर्ने गरेको खुल्न आएको छ। गत मंगलबार र बुधबार काठमाडौं तथा चितवनका विभिन्न स्थानबाट नेपाल प्रहरीले सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, सिन्धुपाल्चोकका मिङमार तामाङ, नुवाकोटका विन्दा ढकाल, रुपन्देहीका मनीषकुमार गिरी र ललितपुरका दमन बस्नेत गरि ७ जना बिटक्वाइन कारोबारीलाई पक्राउ गरेपछि शुक्रबार सूचना सार्वजनिक गरि बिटसेवाले आफ्नो सेवा बन्द भएको जनाएको हो।
बिटसेवामा वालेट भएका प्रयोगकर्ताहरुको पैसा फिर्ता हुनेमा आशंका छ भने उसले बिटक्वाइन खरिद गरिदिने कुरामा समेत बिश्वास गर्ने आधार कम्जोर बनेको छ। बिटसेवाले आफ्नो ठेगाना समेत परिवर्तन गरेको छ। यस कारण उसले आफ्नो वालेटमा भएको प्रयोगकर्ताको पैसा फिर्ता गर्नेकुरामा आशंका यथावत छ। सातजना कारोबारी पक्राउ परेपछि कम्पनीले कारोबार बन्द गर्दै भाग्ने संकेत दिएको हो ।
नेपालमा करिब १० हजारसँग १ लाख बिटक्वाइन रहेको नेपाल राष्ट्र बैंकको अनुमान छ । मंगलवारको मूल्यअनुसार त्यसको कुल मूल्य करिब ५० अर्ब हुन आउँछ । अन्तर्राष्ट्रिय बजारमा सन् २००९ देखि सुरु भएको बिटक्वाइनको कारोबार नेपालमा भने सन् २०१३ बाट हुन थालेको पाइएको छ ।
बिटक्वाइनको कारोबारले अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै विश्वका थुप्रै देशले बिटक्वाइन कारोबारलाई अवैध घोषणा गरिसकेका छन्। नेपाल राष्ट्र बैंकले समेत गत २९ साउनमै नेपालमा बिटक्वाइन प्रतिबन्धित रहेको सूचना जारी गरिसकेको छ।