कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्ने कम्पनी संचालनमा आएको छ। गोल्छा संगठन र हेस्टर बायोसाइन्सेस् लिमिटेड इन्डियाको संयूक्त लगानी रहेको भ्याक्सिन उत्पादन गर्ने हेस्टर बायोसाइन्सेज नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीबाट फागुन १ उद्घाटन भएको हो।
उद्घाटन अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले हेस्टर बायोसाइन्सेज नेपालको संचालनले किसानहरुलाई पशुपालनमा मद्दत पुग्नुका साथै यसले अर्थतन्त्रमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे। हेस्टर बायोसाइन्सेज नेपाल निजी क्षेत्रद्वारा सञ्चालित अग्रिम हेल्थ केयर कम्पनीको रुपमा परिचित भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो। यसले ९० प्रतिशत भन्दा बढि भ्याक्सीनहरु निर्यात गर्छ।
त्यस्तै उद्घाटन अवसरमा पुगेका अर्थमन्त्री युवराज खतिवडाले यस्ता उद्योगले दिगो आर्थिक विकासमा मद्दत पुग्ने बताए। यस्तो प्रकारका उद्योगहरु सञ्चालनमा प्राथमिकता दिनुपर्ने उनले बताए।
हेस्टर बायोसाइन्सेस् नेपालका सीईओ तथा प्रबन्ध निर्देशक राजीव गान्धीले यस उद्योगसंग पशुहरुका रोग निको पार्न आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्ने उन्नत प्रविधि रहेको जानकारी गराए। यस कम्पनीको किफायती मूल्यको गुणस्तरीय उत्पादनले पशुपालनमा भोग्दै आएको समस्याहरुलाई निर्मूल पार्नेमा आफु बिश्वस्त रहेको उनले बताए।
गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्घि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताए। उनले नेपाललाई पशुहरुका लागि आवश्यक पर्ने भ्याक्सीन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा र बाख्राहरुमा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले सहयोग गर्नुपर्ने धारणा राखे। यस उद्योगको संचालनले नेपालमा रोजगारी सृजना गर्ने र राजस्व पनि वृद्वि गर्ने बताए।
हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्दछ । यस कम्पनीको वार्षिक कुल उत्पादन क्षमता १.२४ बिलियन डोज लाइभ र सक्रिय भ्याक्सीन हो। हाल कम्पनीको २० भ्याक्सीनका लागि लाइसेन्स् प्राप्त गरिसकेको छ भने २७ भ्याक्सीनहरु लाइसेन्स्को तयारीमा छ । कम्पनीले २ करोड डोज भ्याक्सीनहरु निर्यात गरिसकेको छ ।