‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला दोलखाको सैलुङ गाउँपालिकाले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । गाउँपालिकाको वडा नम्बर १ दुधपोखरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत हेर्न लायक सडक बनेको छ । पर्यटकीय नगरी सैलुङ जाने पदमार्ग पनि पर्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्ने मुख्य सडक सोलिङ भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले २९ लाख रुपैयाँ बजेट पाएको थियो । यो बजेट सबै वडालाई बराबरी भाग लगाएर दिइयो, एउटा वडाले ३ लाख ६२ हजार पाए । गाउँपालिकाका ८ वटा वडामध्ये वडा नम्बर एक दुधपोखरीले नमुना काम गरिरहेको गाउँपालिका प्रमुख भरत दुलालले बताए । गाउँपालिकाले पैसा दिँदा नै राम्रो गर्नेलाई सम्मान गर्ने भनेर दिएको थियो ।
वडाध्यक्ष बिर्ख बहादुर तामाङका अनुसार १०५ घनमिटर सडक ग्रावेल गर्ने लक्ष्यका साथ काम भईरहेको छ । चार मिटर चौडाईँको यो सडक हालसम्म ८० घनमिटर बनेको छ । ३ लाखको बराबरको काम सकिएको र बाँकी रकमले २५ घनमिटर सक्ने लक्ष्य रहेको वडाध्यक्ष तामाङको भनाई छ ।
अहिले गाउँका ४० जना स्थानीयले काम गरिरहेका छन् ।
फोटोः कमल थापा मगर